हामीलाई हाम्रा पुर्खाले भनेका रहेछन्– सत्यम् वद । अर्थात् सत्य बोल । अर्थात् झुटो नबोल । हुन पनि त्यो त साह्रै मुस्किल काम रहेछ र त हजारौँ वर्षदेखि भनिँदै आयो कि सत्य बोल । तर त्यो त एउटा तपस्या रहेछ । सबैले कठोर तपस्या र पालना गर्न पनि सक्दैनन् । त्यसैले होला, कुनै पनि जवाफदेहीपूर्ण काम गर्ने बेलामा शपथ लिनु पर्छ– म सत्य निष्ठापूर्वक काम गर्ने छु । काम गर्ने सिलसिलामा थाहा पाएका कुरा आवश्यक पर्ने ठाउँमा बाहेक अन्यत्र कतै वा जथाभाबी आफूलाई थाहा भएको कुरा भन्ने छैन ।
अचम्म छ, सत्य बोल्ने कुरालाई जीवनको महत्वपूर्ण र नैतिकताको पहिलो कडी मान्ने पूर्वीय दर्शनको संसारभर मान्यता छ । पहिले पहिले केटाकेटीमा सुन्थ्यौँ कि कुनै बेलामा केही कुरा भनाउनका लागि सोधेको कुरा सत्य बोल्छन् कि बोल्दैनन् भनेर हाम्रो देशमा तामा, तुलसी समाएर, तामाको पाथी टाउकोमा राख्न लगाएर, बालबच्चा छन् भने काखमा राख्न लगाएर सत्य बोल्ने कुराको प्रत्याभूति लिइन्थ्यो ।
सत्यसँग सबैको साक्षात्कार भएको हुन्छ र सत्यको पक्षमा उभिन सकिन्छ त भनिन्छ तर सबैभन्दा मुस्किल काम रहेछ । हामीलाई पहिलो शिक्षा नै आमाको के हुन्थ्यो भने ‘सत्य बोल्नू । सत्यको विपक्षमा कहिल्यै नजानू ।’ मैले कक्षा १ मा पढ्ने बेलामा राम्रो नेपाली भाग–१ भन्ने पुस्तक थियो– २०१७ सालमा । त्यो बेलामा नेपालभरि एउटै पाठ्यक्रम र पाठ्यपुस्तक हुँदोरहेनछ भन्ने पछि मात्र थाहा भयो । सायद जनकपुर अञ्चल र सगरमाथा अञ्चलका लागि त्यो पुस्तक तयार गरिएको थियो । पाठ्यपुस्तकका भरमा पढ्ने त हो नि अहिले पनि । त्यो पुस्तकको पहिलो पाठमै सत्य बोल भन्ने पाठ थियो, जसमा राम र हरि नामका दुई दाजुभाइ थिए । राम दाजु र हरि भाइ हुन् । उनीहरूका पिताजीले आँपका बिरुवा लगाएको हुन्छ । राम र हरि विद्यालयको चौरबाट खेलेर आउँदा रामले एउटा आँपको बिरुवा उखेलेर फ्याँक्छ । साँझमा उसका पिताजीले त्यो बिरुवा उखेलेको अवस्थामा पाएपछि ‘कसले उखेलेको’ भनेर सोध्छन् र रामले ‘मैले त होइन भन्छ ।’ हरिसँग सोधेपछि हरिले सत्य बोल्ने भएर ‘दाजुले उखेलेको हो’ भन्छ र पिताजीले रामलाई गाली गरेको र हरिलाई स्याबास भनेको कथाले ‘हरिले जहिले पनि सत्य बोल्नु पर्छ’ भन्ने प्रभाव ममा परेको थियो । अर्थात् कसैसँग पनि असत्य बोल्नुहुँदैन । एउटा प्रभाव परेको हो । म पनि शतप्रतिशतै सत्य नै बोले हुँला भनेर त भन्न सक्दिनँ अहिले आएर तर सकेसम्म आफूले जाने सुनेसम्म सत्यको पक्षमै रहेको छु । र हाम्रो समाजको एउटा आदर्श नै हो कि सत्य बोल्नु पर्छ । सत्यमेव जयते नै भनिन्छ अर्थात् अन्त्यमा सत्यकै विजय हुन्छ ।
समाजमा जेसुकै भए पनि सत्यको पक्षमा बोल्नेलाई भलाद्मी भनिन्छ, असल मानिसका रूपमा लिइन्छ, जब कि यो साह्रै कठिन काम हो र तपस्या पनि हो रहेछ । कतिपय कुरा सबैले मनमा दबाएर राख्ने रहेछन् किनभने तत्काललाई त्यसबाट अपमान हुन्छ, सामाजिक हानि हुन्छ हाम्रो समाजमा । त्यसैले महाभारतमा भनिएको छ, “सामूहिक हितका लागि सत्यभन्दा पर पनि अर्को सत्य हुन्छ, त्यो हो आपद्धर्मको रक्षा ।”
महाभारतमा बारम्बार एउटा प्रसङ्ग आउँछ– महामन्त्री विदुरले महाराजा तथा आफ्ना दाजु धृतराष्ट्रलाई जत्तिसुकै सम्झाए पनि र आफ्ना सन्तान तथा भाइ पाण्डुका सन्तानलाई बराबरी व्यवहार गर्न सुझाव दिँदा पनि महाराज धृतराष्ट्रले पुत्रमोहका कारणले छोराका गलत दबाबलाई छिचोल्न सकेनन् । अनि अर्को पनि मनोवैज्ञानिक कारण देखिन्छ– सत्ता भनेको सधैँ पाइँदैन, एक पटक पाएको सत्तालाई गुम्न दिनुहुँदैन । जसरी पनि सत्तामा टिक्नै पर्छ र जे गर्दा हुन्छ, त्यसै गरी सत्तालाई टिकाउनु पर्छ । आफ्नो कुनै गल्तीका कारणले नभएर प्राकृतिक रूपमै जन्मँदै दृष्टिहीन धृतराष्ट्रका लागि राजा विचित्रवीर्यको महारानी अम्बिकाको छोरो, पहिलो छोरो हुँदा पनि राजा हुने साइत जुरेन । जेठो छोरो नै राजा हुने तत्कालीन परम्परामा त्यही दृष्टिहीनता नै अभिशाप बन्यो र उनी राजा हुन पाएनन्, उनको हकको राज्य उनका अर्की आमा अम्बालिकाबाट जन्मेका भाइ पाण्डुको हातमा पुग्यो । वास्तवमा ती बालकलाई त केही पनि थाहा थिएन किनभने त्यो बेलाको राज्यको हर्ताकर्ता त राजमाता सत्यवती र हस्तिनापुरका अभिभावकका रूपमा रहेका राजकुमार देवव्रतको हातमा थियो सम्पूर्ण राज्यसत्ता । स्वयम् देवव्रत सत्यभाषी र दृढ प्रतिज्ञ राजकुमार थिए । उनी त्रिकालदर्शी थिए र पनि उनले सत्यको पक्षमा सधैँ उभिन नसकेकाले होला, कुरूवंशीमध्ये धृतराष्ट्रका सन्तानहरू सखाप भए, मारिए । मात्र कौरवको सत्यानाश भएको होइन कि पूर्वीय सभ्यताको एउटा युगको नै विनाश भयो, जसले विश्वयुद्धको रूप लियो सत्य र असत्यका लागि । श्रीकृष्णले सत्यको पक्षमा उभिनका लागि बारम्बार आफूले अवतार लिने र धर्मको, सत्यको पक्षमा जित गराउने भनेर भनेको पाइन्छ । भीष्मपितामह अर्थात् देवव्रतलाई उनको अन्त्यकालका त्यसको सम्झना गराए पनि आफूले प्रायश्चित गर्ने भनेर हतियार छोडी प्राप्त दैवी क्षमताको प्रयोग गर्दै उत्तरायणमा मात्र देहत्याग गर्ने समय कुरेर बसेका थिए मृत्यु शय्यामा ।
धर्मका अवतार मानिएका महाराज युधिष्ठिरले पनि द्रोणाचार्यको अन्त्यका लागि रचिएको असत्य संवादमा सहभागिता राखेको देखिन्छ । कस्तो रहेछ भने कथा– गुरु द्रोण सबै हतियारका ज्ञाता, ब्रह्मास्त्रका ज्ञाता र सिकाउने उनै । चक्रव्यूह रच्ने, अरू पनि युद्धका रणनीतिका महान् गुरु र आफैँ लडाकु पनि । उनको मृत्युका लागि द्रुपदको यज्ञबाट जन्मेका सद्य युवा धृष्टद्युम्न र सँगै जन्मिएकी कृष्णा जसलाई पछि द्रुपदपुत्रीका रूपमा द्रौपदी भनेर चिनियो र पाण्डवकी साझा रानी । अनि विश्रुत उद्भट विद्वान् तथा लडाकु योद्धा महारथी द्रोणाचार्यको अन्त्य नभई पाण्डवको जित सम्भव थिएन र नियतिले धृष्टद्युम्नलाई जन्माएको नै गुरु द्रोणको मृत्युका कारण बन्न । धृष्टद्युम्नले नै मार्नुपर्ने विधिको विधान रहेछ । तर गुरु द्रोणले पाएको वरदान रहेछ, छोरा अश्वत्थामाको मृत्युको शोकले मात्र उनले मृत्युवरण गर्ने अर्थात् त्यो शोकले मात्र गुरु द्रोणले समाधि कस्ने आँखा चिम्लेर । फेरि त्यो समयका चर्चित गुरुकुलका कुलपति नै द्रोण थिए र धृष्टद्युम्न, शिखण्डिनी, पाण्डव र कौरवसँग पढेका थिए । त्रिकालदर्शी गुरु द्रोणलाई थाहा थियो, उनको मृत्युका कारण मित्रपछि शत्रु बनेका द्रुपदको यज्ञदत्तपुत्र धृष्टद्युम्न नै कारक हुन् । गज्जबको समीकरण । छोरोका मृत्युको खबरले वा पक्का समाचारले या मृत शरीरको दर्शनले मात्र द्रोणको मृत्यु सम्भव हुने, छोरो चिरञ्जीवी कहिल्यै नमर्ने अनि छोरो नमरीकन बाबुको मृत्यु नहुने । धृष्टद्युम्नको जन्मका कारण नै गुरुको द्रोणको मृत्युका लागि । अनि जसरी हुन्छ, अश्वत्थामाको मृत्यु हुन जरुरी थियो तर जो चिरञ्जीवी छ, त्यसलाई कसले मार्ने र ? तर एउटा रणनीति अपनाइयो, अश्वत्थामा नामको हात्तीको हत्या गर्ने र हल्ला चलाउने कि अश्वत्थामाको मृत्यु भयो ।
एकातिर गुरु द्रोणलाई छेकेर राखिएको छ युद्धमैदानमा किनभने उनले गर्ने लडाइँले पाण्डव सेना सखाप हुँदै थिए । अर्कोतिर अश्वत्थामाको मृत्युको हल्ला पनि आवश्यक थियो र गुरुले आफ्नै आँखाले नदेखी नपत्याउने कुरा थियो । पाण्डव पक्षतर्फ खुसियाली हुन थाल्यो अश्वत्थामाको मृत्यु भयो, अश्वत्थामाको मृत्यु भयो । त्यो हल्लाका कारणले गुरु विक्षिप्त भए तर उनलाई के विश्वास थिएन भने मेरो चिरञ्जीवी छोरो कसरी मरेको होला र ? कसले पो मारेको होला र ? हल्ला थियो भीमले मारेको अनि थाहा थियो गुरुलाई कि मेरो छोरालाई भीमले मार्नै सक्दैन किनभने नियतिको खेलमा त्रिकालदर्शी गुरुलाई त्यो कतै शङ्का नै थिएन । तर हल्ला जो भएको थियो अश्वत्थामाको मृत्युको । भीम पनि नाच्दै गाउँदै खुसी हुँदै गुरुको वरिपरि नाच्न थाले । अनि गुरुले पनि शङ्का निवारणका लागि युधिष्ठिरले भने मात्र आफू पत्याउने बताए । उता युधिष्ठिरलाई नाटकमा पात्रले बोल्ने पाठ जस्तो सिकाइएको थियो कि अश्वत्थामाको मृत्यु भएको कुरा सम्प्रेषण गर्नु पर्छ गुरुको अघिल्तिर । तर युधिष्ठिरका लागि यो ठुलो परीक्षा थियो जीवनमा किनभने अरूको त के कुरा भयो र आफ्नै गुरुको अन्त्य तत्कालै हुने थियो । आफूले सत्यको पक्ष नलिँदा भने सत्यको पक्षमा उभिँदा आफ्नो हार निश्चित थियो द्रोणाचार्यको शूरता र वीरताका कारणले, गुरु नै थिए सेनापति पाण्डवविरुद्धमा दुर्योधन र शकुनीको पक्षमा । गुरुलाई पनि थाहा थियो, सत्य र धर्म पाण्डवको पक्षमा थियो तर आफू अर्को सत्यका लागि लड्दै छु त्यो हो दुर्योधनका लागि हस्तिनापुरको रक्षाको प्रतिबद्धता । दुई वटा परस्पर सत्यको बिचमा भएको अन्तरद्वन्द्व नै गुरुको महाभारतको युद्धमा उपस्थिति थियो । थाहा थियो द्रोणाचार्यलाई यो युद्धको अन्तिम परिणाम पाण्डवको पक्षमा हुने छ तर कसरी सम्भव होला ? थाहा थिएन । त्यो त थाहा थियो मात्र भीष्मपितामह, श्रीकृष्ण अनि सहदेवलाई । अनि समयको भविष्यलाई ।
अनि युधिष्ठिरले भने गुरुले सुन्नेगरी हो गुरु, अश्वत्थामाको मृत्यु भएकै हो तर मानिस हो कि हात्तीको थाहा भएन । नरो वा कुन्जरो वा अश्वत्थामा हतोहतः । मानिस हो कि हात्ती हो अश्वत्थामा चाहिँ मरेकै हो गुरु । हात्ती भन्ने बेलामा बाजा बजाइयो, नगडा बजाइयो अनि गुरुले हात्ती भनेको सुनेनन् । युधिष्ठिरको विश्वासमा, सत्यवादिताको पूर्ण विश्वासमा द्रोणाचार्यले द्रौणीको मृत्यु भएको ठानेर समाधिमा बसेकै बेलामा उनकै चेलो धृष्टद्युम्नले टाउको छिनाएको थियो जसलाई पाण्डवहरूले चिन्ताको विषय माने पनि आफ्नो विजयका लागि त्यो नै अर्को सत्य ठाने ।
सत्यको कति वटा रूप हुने रहेछ त ? त्यसैले सत्यको अवस्था पनि निरपेक्ष नहुने रहेछ भन्ने मेरो मान्यता रहेको छ तर सत्य एउटै हुन्छ, त्यो सापेक्ष भए पनि सबैलाई थाहा हुन्छ के सत्य हो, के असत्य हो भनेर । भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीलाई एउटा अन्तरबोध या अन्तज्र्योति प्राप्त भएको थियो । उनको हत्या बन्दुकको गोलीले नै हुन्छ र उनले भनेका रहेछन्– मेरो हत्या भयो भने पनि म त्यसलाई सहर्ष स्वीकार गर्छु र प्रतिवाद गर्ने छैन । र अरूले पनि उसको प्रतिहत्या नगर्नू । दुई दिन अघि मात्र आफ्नो सत्यका लागि प्रवचन कार्यक्रममा भनेका थिए भन्ने छ । महात्मा गान्धीलाई सत्यप्रति अत्यन्तै आस्था थियो र उनका लागि धर्म भनेको सत्य हो र सत्य भनेको पनि धर्म हो ।