हरिकृष्ण ऐडी
मुगु, भदौ १४ गते । मुगुको पूर्वी भेगमा पर्ने छायानाथ रारा नगरपालिका–६ मा पर्ने खात्तला, सिप्टिचौर, हुड्केथलापाटनमा वर्षायाम सुरु भएसँगै चरिचरनका लागि भेडालाई पाटन ल्याइएको छ ।
बेँसीमा गर्मी सुरु भएसँगै पाटन उक्लने भेडा पालक किसानहरूको नियमित काम नै हो । छायाँनाथ रारा नगरपालिका वडा ६ का भेडापालक किसान अमर कार्कीका अनुसार हरेक वर्ष भेडापालक किसानहरूले बेँसीमा गर्मी चढेसँगै भेडालाई उच्च हिमाली भेगको पाटन क्षेत्रमा लग्ने गर्छन् ।
गर्मी छल्न उक्लेका भेडाहरूलाई वैशाखदेखि कार्तिक महिनासम्म विभिन्न पाटनका चरन क्षेत्रहरूमा पालिन्छन् । उच्च हिमालमा चिसो सुरु भएसँगै भेडा मङ्सिर महिनाको पहिलो साताबाट भेडाहरू बेँसी ओराल्ने गरिएको कार्कीले बताउनुभयो ।
बर्खामा आफ्ना हिमाली चरन क्षेत्रको यात्रा गर्नु मुगुका भेडी गोठालाहरूको परम्परागत चलन बनेको छ । यतिबेला हरियो पाटनमा सेता काला भेडा चरेका अद्भुत दृश्यहरू देख्न पाइन्छ । जसले पाटन असाध्य रमाइलो देखिने छायानाथ रारा नगरपालिका वडा ६ का स्थानीय भुमल बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “तीन दशक पहिले भेडा परम्परागत यातायातका साधनका रुपमा प्रयोग गरिन्थे” भेडापालक किसान बोहाराका अनुसार भेडा पालनबाट आम्दानी पनि राम्रो हुनेगर्छ ।
अहिले बढ्दो जनसङ्ख्याले वन फँडानी र वनपाखामा खेतीपातीको विस्तार हुँदा चरन क्षेत्र मासिँदै गएको बोहराले बताउनुभयो । मुगाली समुदायहरूले भेडाहरू अन्न लिएर जिल्लाको उत्तरी भेगमा पर्ने माथिल्लो मुगुको तिब्बत जाने र त्यहाँबाट नुन लिएर आउने गरेको छायानाथ रारा नगरपालिका–१ का ८३ वर्षिय ज्येष्ठ नागरिक हस्तबहादुर मल्लले बताउनुभयो ।
भारतसँगको व्यापार सुरु भएसँगै हिउँदमा मधेस झर्ने र वर्षामा पाटन चर्ने भेडाहरू बर्खा लागेसँगै उकालो लाग्छन्, उहाँले बताउनुभयो । भेडाका बथानअघि कुकुर र केही ग्वालाहरू लागेका हुन्छन् । उनीहरूको साथमा बर्खाभरीलाई पुग्ने चामल, पिठो, आगो सल्काउने झरोलगायत वस्तु साथै हुन्छ ।
जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका–४ का स्थानीय प्रेम रोकायाका अनुसार बर्खायाम सुरु भएसँगै पाटनमा बुकी पलाउन थाल्छ र भेडाका लागि बुकी सबैभन्दा मिठो र औषधीय खाना भएकोले पाटन लिग्ने चलन रहेको छ ।
यसरी पाटन चर्ने भेडाको मासु खाँदा विभिन्न प्रकारका रोगहरू निको हुने जनविश्वास छ । खुट्टा तथा टाउकाको झोल खानाले शरीरमा तागत थपिने भेडा पालक किसान रोकायाले बताउनुभयो । हिमाली हावा, खनिज तथा पौष्टिक तत्वले भरिएका घाँस खाएका, चिसो पानी पिएका भेडाहरूको मासु बढी रुचाइने गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताउनुभयो ।
मुगाली किसानको प्रमुख आयमुलक पेसामा भेडापालन पर्छ । कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका चार पालिकामा आठ हजार भेडा रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भेडापालक किसानका लागि हरेक वर्ष प्रोत्साहन बापत कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा १८ हजार नगद रुपियाँ कार्यालयले वितरण गर्दैआएको छ ।