• १० मंसिर २०८१, सोमबार

फोहोर व्यवस्थापनबाट हैजा नियन्त्रण

blog

फोहोरमैला व्यवस्थापन हाम्रोजस्तो देशका लागि मुख्य समस्याको विषय भएको छ । यसको व्यवस्थापनको अभावले वातावरणीय तथा गुणस्तरीय मानवीय जीवनमा अवरोध भएको छ । गुणस्तरीय जीवनका लागि हामी सबैले आफ्ना बस्ती, नगर र विभिन्न कलकारखानाबाट निष्कासित फोहोरमैलाको उचित व्यवस्थापन गर्दै अघि बढ्नु अति आवश्यक छ ।

हाम्रोजस्तो राष्ट्रमा उत्पादित फोहोरमैला आवास क्षेत्रमा थुपार्ने कार्य तत्काल र दीर्घकालीन रूपमा प्राणी जगत्का लागि लाभदायक देखिँदैन । यसले जुन ५ मा ‘केवल एउटा पृथ्वी, पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासाथ मनाइँदै गरेको विश्व वातावरण दिवसलाई पनि गिज्याइरहेको छ ।

स्मरण रहोस्, काठमाडौँ महानगरपालिकाका जनताले फोहोरमैलाको आवश्यक व्यवस्थापन हुने आशामा ०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अभिमत दिई जनप्रतिनिधि चुनेको स्पष्ट नै छ । निर्वाचनमा फोहोरको विषय धेरै उठेको थियो । महानगरका जनप्रतिनिधिले पहिलो नगर सभाको बैठकमा फोहोरमैला व्यवस्थापनका लागि प्रमुख एजेन्डाका रूपमा राखी कार्य अगाडि बढाएको पाइन्छ । जुन सकारात्मक पहल हो ।

फोहोरमैलाको आवश्यक व्यवस्थापनको अभावमा विभिन्न महामारी प्रकोपको सामना गर्नुपर्ने हुन्छ । त्यसमध्ये हैजा पनि एक हो । यो रोग पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै झाडापखाला तथा बान्ता सुरु हुन थाल्दछ । यो रोगबाट मानिसमा अति शीघ्र कडा जलवियोजन भई हातगोडा बाउँडिने, थकान महसुस हुनुका साथै कडा जलवियोजनका कारण मानिसको मृत्युसमेत हुने गर्दछ । हाम्रो देशमा बेलाबेलामा देखा पर्ने विभिन्न प्राकृतिक विपत्ले खानेपानीको मुहान प्रदूषण हुने र सहरी क्षेत्रमा ढलको उचित निकास तथा फोहोरमैलाको उचित व्यवस्थापन नभएका कारण हैजाजस्तो माहामारी देखा पर्ने गर्दछ । 

विगत केही महिनादेखि काठमाडौँमा अव्यवस्थित रूपमा फालिएको फोहोर तथा उच्च वर्षात्का कारण यो रोग देखा परेको समाचार प्रकाशमा आएको छ । यसलाई निराकरण गर्न समुदायमा फोहोरमैला व्यवस्थापनका लागि जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । साथै शौचालयको प्रयोग, नियमित साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास, स्वच्छ र सफा खाना तथा फलपूmल र तरकारीको सेवन, पिउने पानीलाई सकेसम्म उमालेर मात्र पिउने बानी बनाउन सकेमा हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । 

यो रोगको लक्षण देखा परेमा तुरुन्त जीवनजल पानी सेवन गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु आवश्यक हुन्छ । हैजा नेपाली समुदायमा सयौँ वर्ष अगाडिदेखि जरा गाडेर रहेको र बेलाबेलामा प्रकोपका रूपमा देखा परिरहेको हुँदा यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आजको आवश्यकता हो । पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाइमा स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारको ध्यान जान जरुरी देखिन्छ ।

फोहोरमैलाको आवश्यक व्यवस्थापन, शुद्ध पिउने पानीको व्यवस्था सम्पूर्ण नागरिकलाई पु-याउने, चर्पीमा मात्र दिसापिसाब गर्ने बानीको विकास, खाना खानु अगाडि, चर्पीको प्रयोग गरेपछि र फोहोर चिज छोएपछि साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास गर्न सकेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । 

फोहोरमैला व्यवस्थापनको बाधक तत्व 

फोहोरमैला व्यवस्थापनमा विभिन्न पक्ष बाधकका रूपमा रहेका छन् । नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो भन्ने र आफ्नो जिम्मेवारी महसुस नगरी अस्तव्यस्त तरिकाबाट फोहोरमैला उत्पादन गर्ने प्रवृत्ति छ । स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयन नहुनु, फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु यस क्षेत्रका देखिएका थप समस्या हुन् । 

फोहोरमैला व्यवस्थापनमा संस्थागत संरचनाको अभाव छ । अर्कोतर्फ फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी पनि समस्याका रूपमा रहेको छ । फोहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव छ । आवश्यक भौतिक पूर्वाधारहरू जस्तै– ल्यान्डफिल्ड साइटको अभाव, प्रयोगशाला, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नुले पनि समस्या समाधान हुन सकेको छैन ।

फोहोरममैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसंँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता देखिन्छ । फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, निहित स्वार्थ, राजनीतिक खिचातानीको समस्या यस क्षेत्रमा धेरै पहिलेदेखि देखिएको विषय हो । 

यी माथिका कारणबाट काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन गर्नु नै राष्ट्रिय रूपमा चुनौतीपूर्ण बनेको छ । यसका कारण बेलाबखत हैजाजस्ता विभिन्न महामारीको सामना गर्नुपर्ने हुन्छ । फोहोरमैला समाधानको सबैभन्दा उत्तम उपाय स्रोतमै फोहोरमैला उत्पादन कम तथा व्यवस्थापन गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीको अहं भूमिकाबारे जानकारी गराउने हो ।

नगरवासीलाई दायित्व बोध गराउने हो । यसका लागि स्थानीय बासिन्दाको आवश्यक मागलाई सम्बोधन गर्ने तथा नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्छ ।फोहोरमैलाको व्यवस्थापन र यसको बहुआयामिक उपयोग नीतिमा सार्वजनिक, निजी र नागरिकबीच सहकार्यको माध्यमबाट अगाडि बढ्नुपर्ने देखिन्छ । फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक 

ढङ्गले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकासँग समन्वय गरी छाता अवधारणाको विकास गर्नु आवश्यक छ । नगरवासीमा जनचेतना अभिवृद्धि गरी यसको व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ । नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थालाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यून गर्न सकिन्छ । 

फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्छ । यसबाट ठूलो धनराशिको बचत गर्न सकिन्छ । फोहोरमैला न्यून गर्ने घरेलु उपायहरू अवलम्बन गर्न सकिन्छ । यसका लागि नगरपालिकाले उपयुक्त प्रविधि भिœयाई आवश्यक व्यवस्थापन गर्नुपर्छ । नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।

यसका साथै नगरपालिकामै ल्यान्डफिल्ड साइडको व्यवस्था गर्नु अहिलेको अर्को आवश्यकता भएको छ । पब्लिक–प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले यसको पनि समयमै सम्बोधन आवश्यक देखिएको छ । 

कतै निकायगत जिम्मेवारीमा दोहोरोपन र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, सङ्घसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुने गरी विद्यमान कानुन परिमार्जन गरिनुपर्छ । माध्यमिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्न आवश्यक पहल गर्नुपर्दछ ।

यसका साथै सम्पूर्ण सरकारी, निजी, गैरसरकारी संस्था, विद्यालय तथा विश्वविद्यालय, क्लब, स्वयंसेवक, नागरिक समाज आदि सबैसँग फोहोरमैला व्यवस्थापनमा सहयोग लिन अति आवश्यक छ । यसो भएमा मात्र फोहोरमैलाको उचित व्यवस्थापन भई मानिसको स्वास्थ्य गुणस्तर हुन्छ । 

Author

डा. माधव अधिकारी