मोरङ, माघ ३ गते । मोरङको ग्रामथान गाउँपालिका–४, जुरीखोला छेउको बाँसझ्याङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार जुवाको खाल बनाई पैसाको हार–जित हुने खेल खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो ।
पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ निवासी ५७ वर्षीय जयकिशोर साह, भोजपुर हतुवागढी गाउँपालिका–३, सिन्द्राङ घर भई हाल सुनसरीको धरान बस्दै आएका ५६ वर्षीय हेमन्त राई, मोरङ कटहरी गाउँपालिका–१ निवासी ४२ वर्षीय सोनलाल राजवंशी, मोरङ सुन्दरहरैँचा नगरपालिका–५ निवासी ४७ वर्षीय इन्द्र आचार्य रहेका छन् ।
छापाका क्रममा जुवा खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिई जुवाको खालबाट १६ थान कौडा तथा नगद तीन लाख १३ हजार रुपियाँ बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद नगद तथा सामग्री कानुन बमोजिम जफत गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ । प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।