• ३ माघ २०८२, शनिबार

राष्ट्रिय एकताको साझा सङ्कल्प

blog

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशमा भनिएको छ, ‘घुस दिने र घुस खाने दुवै देशका शत्रु हुन् ।’ वास्तवमा राष्ट्रलाई बलियो बनाउने, राष्ट्रियताको प्रवर्धनसँगै आर्थिक समुन्नति र विकासमा आधारशिला निर्माणको नवीनतम् प्रस्थानविन्दु नै सुशासन हो । सुशासनको जगमा समुन्नत नेपाल निर्माण युगीन अभिभारा पूरा गर्न सकिन्छ । भ्रष्टाचारमुक्त राज्य संरचना, सुशासनयुक्त सार्वजनिक सेवा प्रवाह नै राष्ट्रलाई नवीन युगमा प्रवेश गराउने मन्त्र हो । वैश्विक राजनीति, वैश्विक अर्थव्यवस्था र समग्र विश्वव्यवस्थाको प्रभाव नेपालमा परे पनि समुन्नति, समृद्धि र सुशासनको प्रभावकारी मौलिक विधिमार्फत देशलाई बस्नलायक बनाउन सकिन्छ । रेमिट्यान्सबाटै धानेको मुलुकको परिभाषा बदलेर रूपान्तरणको नयाँ युग आरम्भ गर्न सकिन्छ । देश र नागरिक पङ्क्तिलाई आर्थिक रूपमा सशक्त बनाएर स्वाभिमानी नेपालीका रूपमा विश्वमाझ बौद्धिक प्रतिस्पर्धामा उभ्याउन सकिन्छ तर यसका लागि देशका शत्रु अर्थात् भ्रष्ट प्रवृत्तिलाई समूल नष्ट गरेर पहिलो खुट्किलोबाटै सुशासनको यात्रा आरम्भ गर्नुपर्ने छ । 

जेनजी पुस्ताको भदौ २३ र २४ गतेको जनआन्दोलनपछि देश प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको छ । फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको सरकारसँगै निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेका छन् । राजनीतिक दल पनि समानुपातिक सूची बुझाएपछि प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न संवादमा छन् । जनआन्दोलनको अगुवाइ गरेका जेनजी अगुवा प्रतिनिधि सभालाई निष्पक्ष, भयरहित, स्वतन्त्र र रूपान्तरित बनाउन रचनात्मक विमर्शमा छन् । समग्रमा देशलाई नवीनतम् गति प्रदान गर्ने युगीन अभिभारा पूरा गर्ने दायित्वबोध गरी अग्रगामी यात्रामा निस्किएका छन् । यही समयमा राजनीतिक दलभित्र रूपान्तरणको बहस पनि उठिरहेकै छ । जसरी बहस उठे पनि, जस्ता तर्कवितर्क भए पनि ती सबै बहसभन्दा माथि देश छ । देशलाई सर्वोपरि मानेर निर्वाचन सफल बनाउँदै रूपान्तरणको आधार तयार गर्नु छ । ढिलोछिटो निर्वाचन हुनु नै थियो, हुन्छ, हुनु पर्छ तर निर्वाचनपछि प्रतिनिधि सभा कस्तो बन्छ ? नवीनतम् आयाम ल्याउन सक्छ कि सक्दैन ? देश स्थिरताको पथमा अगाडि बढ्छ कि बढ्दैन ? यी प्रश्नको जवाफ खोज्नु पर्छ । अनि निर्वाचनतर्फ एकाकार भएर अगाडि बढ्नु पर्छ । 

भूराजनीतिक सन्तुलनको सर्त 

नेपालको इतिहासभित्र भूराजनीतिक जटिलतासँग एउटा यस्तो शाश्वत सत्य र संवेदनशीलता लुकेको छ, जसलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अढाई सय वर्षअघि नै ‘दुई ढुङ्गाबिचको तरुल’ भनेर परिभाषित गर्नुभएको थियो । अहिले विश्व राजनीतिमा विकसित शक्ति सन्तुलनको केन्द्र एसियातर्फ आउँदै गर्दा नेपालको भूराजनीतिक संवेदनशीलता झनै सघन र जटिल बनेको छ । त्यसैले असंलग्न परराष्ट्र नीतिको जगमा भूराजनीतिक सन्तुलनलाई अझै प्रभावकारी र दूरगामी बनाउनु पर्छ । नेपाल केवल दुई विशाल छिमेकी भारत र चीनका बिचमा मात्रै छैन । दुई देशको पुल मात्रै होइन । नेपाल वैश्विक रूपमै शक्ति राष्ट्रहरूको रणनीतिक चासोको चौबाटोमा उभिएको छ । चीनको उदय र उसको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मार्फत हिमालय वारपार जोड्ने आकाङ्क्षा छ । भारतको सुरक्षा चासो मात्रै छैन, ऐतिहासिक, धार्मिक, आर्थिक र सांस्कृतिक सम्बन्ध छ । यो सम्बन्ध निकै संवेदनशील छ । संयुक्त राज्य अमेरिका र पश्चिमा शक्ति पनि हाम्रा विकास साझेदार हुन् । कतिपय बहसमा अमेरिकाले ‘इन्डो–प्यासिफिक रणनीति’ मार्फत सव्रिmयता बढाउँदा टकराव बढेको, नेपालको आन्तरिक राजनीति र बाह्य सम्बन्धमा कम्पन आउने जस्ता बहस पनि हुन्छ तर हामीले सबैसँग समदुरीको सम्बन्धका आाधारमा सहकार्य गर्नु पर्छ र सबैसँग मित्रवत् र समदुरीको सम्बन्ध बनाउन सक्नु चुनौतीको कुरा पनि हो । 

भूराजनीतिक टकराबमा पर्न सक्ने खतरा र नेपालले लिनुपर्ने बाटोका सन्दर्भमा विमर्श हुन जरुरी छ । किनभने यो विषय अहिले आएर उठान भएको होइन । पृथ्वीनारायण शाहले अहिलेको सङ्कटलाई २५० वर्षअगाडि नै बुझेको प्रतीत हुन्छ । दिव्य यो उपदेशले नै प्रमाणित गरेको छ । तत्कालीन राजाले दिएका सन्देश मात्रै होइन यो । नेपालका हरेक पुस्ताले हृदयङ्गम गर्नुपर्ने ज्ञानको सार पनि हो । भारत र चीनसँग मैत्री सम्बन्ध राख्ने, समान निकटता, कसैको पक्षधरता नदेखाउने जस्ता विषय अहिले पनि उत्तिकै तार्किक र मननीय छन् । निर्वाचनपछि प्रतिनिधि सभाले बृहत् बहसमार्फत राज्यलाई छिमेकी र सबै मित्रराष्ट्रबिच समान हैसियतको सम्बन्ध बनाएर देशलाई नवीनतम् आयाम ल्याउन सक्नु पर्छ । जेनजी आन्दोलनको जनादेश पनि यही हो । साथै देश स्थिरताको पथमा अगाडि बढाउनै पर्छ । 

अर्कोतर्फ राष्ट्रनिर्माता शाहले स्वदेशी कपडा बुन्नु, विदेशीलाई देशको पुँजी नदिनु भन्ने भनाइसँग वर्तमानको व्यापार घाटा र परनिर्भरतालाई समाधान गर्ने रामवाण मन्त्र दिएको छ । अर्थतन्त्र बलियो बनाउने, राष्ट्रिय सुरक्षाका लागि भ्रष्टाचारमुक्त समाज अनिवार्य छ । त्यसैले भूराजनीतिक सन्तुलनलाई मिलाएर राष्ट्रिय एकताका लागि साझा सङ्कल्प गर्ने निर्णायक घडीमा हामी छौँ । यस्तो बेला आवेगमा होइन विवेकमा निर्णय गर्नु पर्छ । तर्कमा होइन तथ्यमा निर्णय गर्नु पर्छ । अनि मात्रै देशले निकास पाउँछ । नेपाली जनताको सात दशकदेखिको समुन्नतिको असीम चाहना पूरा हुन्छ । यसका लागि राजनीतिक नेतृत्व र परिवर्तनका पक्षधर शक्ति एकै ठाउँमा उभिएर सङ्कल्प गर्नु पर्छ कि हामी नेपाल राष्ट्रलाई सुन्दर बनाउने छौँ । त्यो सङ्कल्प जनताले विश्वास गर्ने हुनु पर्छ । विश्वजगत्ले भरोसा गर्ने हुनु पर्छ । आर्थिक क्षेत्रले नयाँ अठोट लिने हुनु पर्छ । अनि मात्रै राष्ट्रिय सङ्कट निवारणको नयाँ आभा प्रस्फुटित हुने छ । देशमा रूपान्तरणको युग आरम्भ हुन्छ । 

राष्ट्र र राष्ट्रिय एकता 

बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय समाजमा सहअस्तित्व स्वीकार गर्दै एकताबद्ध भएर राष्ट्रका समस्या समाधान गर्नुपर्ने दायित्व पनि हामीसामु छ । राष्ट्रनिर्माण पृथ्वीनारायण शाहले भने झैँ ‘चार जात ३६ वर्णको साझा फूलबारी’ नेपालीलाई अझै परिस्कृत र सम्पन्न बनाउने अठोट लिनु पर्छ । राष्ट्रलाई बलियो बनाउने सूत्र नै राष्ट्रियता र राष्ट्रिय एकता हो । त्यसैले आन्तरिक एकता र सुशासनमार्फत देश र नागरिकका आकाङ्क्षा सम्बोधन गर्नु छ । हामी अब निष्व्रिmय भएर बस्ने समय छैन । नेपालले अब 

‘बफरजोन’ बाट आफूलाई विकासको पुलमा रूपान्तरण गर्न सक्नै पर्छ तर यो पुल बन्ने प्रव्रिmयामा कसैको छाताभित्र पस्नु हुँदैन, कसैको भरोसामा बस्नु पनि हुँदैन । सामरिक सुरक्षाको पहिलो सर्त अर्थतन्त्रको सबलपन हो । जबसम्म नेपालले आफ्नै स्रोतसाधनको बलमा खुट्टा टेक्दैन, तबसम्म बाह्य अनुदान र ऋणसँगै आउने सर्तले हाम्रो सार्वभौमिकतालाई थिचिरहने छ ।

पृथ्वीनारायण शाहले असली हिन्दुस्थानको परिकल्पना गर्दा यो केवल धार्मिक कुरा थिएन, बरु दक्षिणबाट आउन सक्ने वैचारिक र सांस्कृतिक उपनिवेशविरुद्धको एउटा मनोवैज्ञानिक पर्खाल थियो । अहिलेको सन्दर्भमा यो हाम्रो मौलिक पहिचानको रक्षासँग जोडिएको छ । त्यसैले धार्मिक एवं मौलिक सांस्कृतिक सम्पदा र सम्पन्नतामार्फत समुन्नतिको जग बसाल्नेतर्फ लाग्नु पर्छ । नेपालको भूराजनीतिक नियति बदल्न सकिँदैन तर यसको व्यवस्थापन पक्कै गर्न सकिन्छ । पृथ्वीनारायण शाहले देखाएको बाटो भनेको डरको बाटो होइन, सतर्कता र स्वाभिमानको बाटो हो । सत्ता र राजनीतिक नेतृत्वले विदेशी शक्तिको सामरिक गोटी बन्नुभन्दा उहाँका दिव्यदर्शनलाई आधुनिक कूटनीतिको औजार बनाउनु आवश्यक छ । राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरिने मौन तर दृढ कूटनीति नै नेपालको अस्तित्व रक्षाको एक मात्र विकल्प हो । 

सङ्कल्प गरौँ– हामी देश बनाउँछौँ 

जेनजी जो प्रविधि र भूमण्डलीकरणको तीव्र लहरमा हुर्किएको छ । जेनजीले दिव्योपदेशको मर्मलाई आधुनिक सन्दर्भमा पुनव्र्याख्या गर्नु अपरिहार्य छ । पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा व्यक्त गरेका अनुभवसिद्ध विचारको सँगालो ‘दिव्योपदेश’ केवल एक ऐतिहासिक दस्ताबेज मात्र होइन, यो नेपालको भूराजनीति, अर्थतन्त्र र समाजशास्त्रको एक शाश्वत सूत्र हो भन्ने कुरा आत्मसात् गर्नु जरुरी छ । नेपालको आत्मनिर्भरता र कूटनीतिक सन्तुलनको मूल मर्म ‘नेपाल दुई ढुङ्गाबिचको तरुल हो’ भन्ने उहाँको यथार्थबाट नै गुज्रिएको छ । यसले भौगोलिक अवस्थितिसँगै दुई विशाल अर्थतन्त्र र विचारधाराका बिचमा कसरी आफ्नो अस्तित्व र विशिष्टता जोगाउने भन्ने कुरालाई इङ्गित गरेको छ । दिव्योपदेश अहिलेको व्यापार घाटा न्यूनीकरण र स्थानीय उत्पादन प्रवर्धनको प्रारम्भिक अवधारणादेखि ‘सबै जातको फूलबारी’ को अर्थ समावेशी राज्यप्रणालीको अवधारणा थियो, जो अहिलेको लोकतान्त्रिक गणतन्त्रमा सबैको पहिचान र प्रतिनिधित्वको सुनिश्चितताको जग हो भन्ने कुरा आत्मसात् गर्नु जरुरी छ ।

जेनजी सूचनाको हक, व्यक्तिगत स्वतन्त्रता र विश्वव्यापी अवसरको खोजीमा छ । यो पुस्तामा परम्परागत राजनीतिप्रति वितृष्ण छ तर देशको समृद्धिका लागि भोको छ । जेनजीले पृथ्वीनारायण शाह र उहाँको दिव्योपदेशको राष्ट्रवादलाई केवल सिमानासँग मात्र जोड्नु हुँदैन । बरु दिव्योपदेशको आत्मनिर्भरताको आर्थिक दृष्टिकोणलाई सफ्टवेयर, नवीनता र विश्वबजारमा नेपाली ब्रान्डको उपस्थितिसँग जोड्नु पर्छ । यो पुस्ताले केवल एकपक्षीय भक्तिमा विश्वास गर्नु हुँदैन । यसले दिव्योपदेशलाई पनि किन र कसरी भन्ने तर्कको कसीमा राखेर अहिलेको विज्ञानको विकाससँग जोडेर हेर्न जान्नु र सक्नु पर्छ । नेपालका राजनीतिक दल र सरकारले दिव्योपदेशलाई केवल पुज्ने मात्र होइन, यसलाई नीतिगत तहमा रूपान्तरण गर्न आवश्यक छ । दलहरूले केवल वैदेशिक सहायता र रेमिट्यान्समा आधारित अर्थतन्त्रको साटो स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारित उद्योगको नीति ल्याउनु पर्छ । पृथ्वीनारायणले भने झैँ दुवै छिमेकीसँग समान सम्बन्ध राख्नु विश्व शक्ति सङ्घर्षमा नेपालको अस्तित्व रक्षाको मूल मन्त्र हुनु पर्छ ।