महोत्तरी समाचारदाता
महोत्तरी, भदौ १२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार एक कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । जलेश्वर नगरपालिका कार्यालयको वरिपरि रहेका उनीहरूलाई कुकुरले टोकेर घाइते बनाएको हो । हाल उनीहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।
घाइते भएर अस्पताल पुग्नुभएका फुल्हट्टाका युवक हसनैन अन्सारीले नगरपालिका चोकमा बनिरहेको घरअगाडि आफू उभिएको समयमा एक्कासि कुकुर आएर खुट्टामा झम्टिएको बताउनुभयो । कुकुरले दायाँ खुट्टामा झम्टिएर घाउ बनाएको बताउँदै अस्पतालमा एन्टी रेबिज भ्याक्सिन लगाउनु परेको बताउनुभयो । त्यस्तै अर्का घाइते बजराहीका राजेश झाले आफू नगरपालिका चोकमा उभिएर कुराकानी गरिरहेको अवस्थामा एक्कासि पछाडिबाट आएर कुकुरले टोकेको बताउनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षका इन्चार्ज रामउदित यादवले कुकुरले टोकेर उपचारका लागि १४ जना आएको र आउने व्रmम जारी रहेकोले सङ्ख्या बढ्न सक्ने बताउनुभयो । घाइतेलाई चिकित्सकले घाउको अवस्था हेरेर टिटानस, एन्टी रेबिज भ्याक्सिन तथा अन्य औषधी दिएको जनाएका छन् । प्रादेशिक अस्पताल जलेश्वरमा एन्टी रेबिज भ्याक्सिनको उपलब्धता रहेकोले उनीहरूलाई एक डोज लगाइएको छ ।