चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १२ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने फुङ्लिङ–लिबाङ–थलङ सडक नौ दिनदेखि खुलेको छ । मिक्वाखोला गाउँपालिका–३ लिबाङको ताखोक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको हो ।
सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोलाको प्रशासकीय केन्द्र थलङ जोड्ने सडक गएको मङ्गलबारदेखि अवरुद्ध बनेको थियो । ठुला–ठुला चट्टानसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीका स्वकीय सचिव थापाका अनुसार पहिरो खसेदेखि नै पहिरो पन्साउन सुरु गरेको भए पनि ठुला चट्टानका कारण समय लागेको हो । पहिरोसँगै खसेको चट्टान (ढुङ्गा) फुटाएर सडक खुलाउने प्रयास असफल भएपछि नयाँ ट्रयाक निर्माण गरेको सडक खुलाइएको थापाले बताउनुभयो । उहाँकाअनुसार सडक खुलेसँगै बुधबारदेखि नै यातायात सुचारु भएका छन् ।
पहिरोले लिबाङको ताखोक खण्डमा सडक अवरुद्ध बनाएपछि करिव नौ दिनसम्म फुङ्लिङ हुँदै मिक्वाखोलाको थलङसम्म सञ्चालन हुने सडक ठप्प भएको थियो । सो सडक अवरुद्ध भएका कारण वैकल्पिक सडकमार्फत यातायात सञ्चालन गरिँदै आएको थियो । सो सडक नखुल्दासम्म यातायात व्यवसायी तथा सर्वसाधारण यात्रुले सास्ती खेप्नुपरेको थियो ।