• १२ भदौ २०८२, बिहिबार

पूर्वबाट प्लाइउड निकासी ठप्प

blog

नवराज कट्टेल

विराटनगर, भदौ १२ गते । भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासीमा अवरोध भएको छ । 

विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डिआरआई) को मद्दतमा मेची र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाइउड बोकेका नौ वटा ट्रक जफत गरेसँगै नेपाली उद्योगीले निर्यात बन्द गरेका हुन् । 

मेची भन्सार कार्यालयबाट निकासी भएका आठ वटा ट्रक भारतीय भन्सार कार्यालय पानीट्याङ्कीमा साउन दोस्रो हप्तादेखि रोकेर गत हप्ता जफत गरिएको थियो । यसै गरी विराटनगर भन्सार कार्यालयबाट गत शनिबार निकासी भएको एउटा ट्रक जोगबनी भन्सारमा रोकेर मङ्गलबार जफत गरिएको हो ।

मेची भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार भारतीय पक्षको यो कारबाहीसँगै त्यो नाका हुँदै प्लाइउड निकासी भएको छैन । हुमागाईंका अनुसार २२ दिनयता प्लाइउड निकासी रोकिए पनि भेनियर भने निकासी भइरहेको छ । विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी विमलकुमार साहले गत शुक्रबारयता प्लाइउड निकासी भएको छैन । 

पानी ट्याङ्कीमा नेपालका उद्योगले पठाएका आठ वटा ट्रकका प्लाइउडमा मेड इन इन्डिया लेखिएको र बिआइएस पाएका उद्योगले नपाएका उद्योगको उत्पादन पठाएको अभियोग लगाइएको थियो । जोगबनी भन्सारमा समेत उही अभियोग लगाउँदै जफत गरिएपछि उद्योगीहरू हच्किएका हुन् । 

नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले बिआइएस मान्यता अनिवार्य गरिएपछि नेपालका उद्योगले पनि मिलाउन नसकेको बताउनुभयो । नेपालका उत्पादन भारत निर्यात हुने कुरा सहज भइसकेको उहाँको दाबी थियो । 

अध्यक्ष घिमिरेले भारतले कतिपय अवस्थामा गरिरहेको कडाइ अनुसार नेपालले सहजीकरण गर्दै जानुपर्ने बताउनुभयो । त्यहाँको मापदण्ड अनुसारको सामान मात्रै उसले लिन्छु भने पनि उद्योगले ध्यान दिनुपर्ने उहाँको बुझाइ छ । 

भारतको अवरोधकै कारण गत आर्थिक वर्ष २०८१/८२ को साउनको तुलनामा चालु आवको साउनमा आधारभन्दा कम प्लाइउड निर्यात भएको काँकडभिट्टा भन्सार कार्यालयले जनाएको छ । गत वर्ष साउनमा एक करोड पाँच लाख ४७ हजार ७७१ किलोग्राम प्लाइउड निर्यात भएकामा चालु आवको साउनमा ५० लाख ६६ हजार ६२९ किलोग्राम प्लाइउड भन्सार कार्यालय काँकडभिट्टाबाट निकासी भएको देखिन्छ । 

विराटनगर भन्सार कार्यालयबाट चालु आवको साउनमा नौ लाख ७७ हजार ३९ मेट्रिक टन प्लाइउड निकासी भएको छ । गत शुक्रबारसम्म खासै अवरोध नभएका कारण निकासी भइरहेको प्लाइउड त्यसपछि भन्सारबाट जाँचपास नभएको हो ।