नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ११ गते । बागलुङदेखि पाङ अदुवाबारी जोड्ने गण्डकी गोल्डेन ब्रिजको ठ्याक्कै तल अकाल मन्दिर नजिकै लहरै छ, बङ्गुर फार्म । त्यसमा एउटा फार्म छ गोर्खा घर भई बागलुङ बस्दै आएका कमल बहादुर थापा मगर । उहाँ त्यहि फार्ममा व्यस्त हुनुहुन्छ ।
थापासँगै अन्य नौ जनाको बङ्गुर फार्म छ यहाँ । नौ वटा फार्ममध्ये अर्को एक हो काठेखोला गाउँपालिका–४ तंग्रामकी मनकुमारी थापाको । कमल र मनकुमारीको राम्रो आम्दानीको स्रोत बनिरहेको छ बङ्गुर फार्म ।
कमल युवा हुनुहुन्छ, जो विदेश जाने रुचि त्यागेर त्यहीँ संघर्ष गरिराख्नुभएको छ । मनकुमारी ज्येष्ठ नागरिक हुनुहुन्छ । तर पनि यी दुवै बिहान झिसमिसेदेखि नै साँझ अबेरसम्म आ–आफ्नो फार्ममा व्यस्त हुनुहुन्छ ।
‘‘म प्राय बिहान ६ बजेदेखि साँझ अवेरसम्म नै फार्ममा व्यस्त हुन्छु ।’’ कमलले भन्नुभयो, ‘‘बङ्गुरलाई दाना दिनेदेखि सफा गर्ने र बङ्गुर बनाउनेसम्मको सबै काम गर्नुपर्छ ।’’
कमल थापाको यो बङ्गुर फार्म आम्दानीको राम्रो स्रोत हो ।
३५ वर्षीय थापाले विगत ८ वर्षदेखि यहाँ बङ्गुर पाल्न थालेका हुन् । यो उनको आम्दानीको राम्रो श्रोत हो । उहाँले यो फार्ममा १७ वटा हुर्केका बङगुर रहेका छन् ।
उहाँ नेपालमा नै सम्भावना देखेर निरन्तर संघर्षमा गरिराख्नुभएको छ । वैदेशिक रोजगारका लागि परिवारबाट केही दबाब आए पनि कमललाई वैदेशिक रोजगार प्रति रुची छैन ।
‘‘वैदेशिक रोजगारकोलागि जान परिवारबाट केही दबाब त आयो तर मलाई वैदेशिक रोजगारका लागि जान कहिल्यैपनि रुची लागेन ।’’ उहाँले भन्नुभयो, ‘‘विदेशमा भन्दा यहिँ सम्भावना देखेर लागिरहेको छु, सक्दासम्म आफ्नै देशमा गर्ने प्रयास गर्नेछु ।’’
यहाँ उत्पादित बङगुरर बागलुङ बजारमा नै खपत हुने गर्दछ । यी फार्ममा उत्पादित बङगुरले मागको करिब २५ प्रतिशत आपूर्तिमा योगदान पुर्याउँदै आएको उहाँको विश्वास छ ।
उहाँ स्वदेशप्रति विश्वास गर्नुहुन्छ । त्यसैले दिनरात नभनी आफ्नै फार्ममा पसिना बगाइरहनुभएको छ । तर उहाँको फार्मलाई स्थानीय सरकारले हटाउँछ की भन्ने आशाँका छ । विभिन्न बहाना बनाएर हटाउन खोजिरहेको भन्दै उहाँले आफुहरु जस्ता स्वदेशमा नै केही गर्छौँ भन्नेहरुलाई ठाउँको विकल्प देखाइदिनु पर्ने बताउनुभयो ।
‘‘हामीलाई स्थानीय सरकारले हटाउँछ की भन्ने आशङ्का छ ।’’ उहाँले भन्नुभयो, ‘‘यदि यहाँबाट हटायो भनेपनि नेपालमै केही गर्छौँ भनेर लागिरहेका हामीहरुलाई अन्यत्र ठाउँ देखाई दिनु पर्छ ।’’ नेपालमा केहीपनि भएन भनेर विदेशिएको समयमा थापाले यहि बङगुर पालेर स्वरोजगार बनिराख्नुभएको छ ।
थापाको फार्मसँगै जोडिएको छ बागलुङ काठेखोलागाउँपालिका–४ तंग्रामकी मनकुमारी थापाको बङगुर फार्म । विगत १५ वर्षदेखि बङगुर पाल्दै आउनुभएको थापाको यो फार्म आम्दानीको राम्रो स्रोत हो ।
‘‘महिनामा ठ्याक्कै यति कमाई हुन्छ भन्ने त छैन तर परिवार चलाउन यसले धेरै राम्रो सहयोग पुर्याएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘यो आम्दानीको राम्रो स्रोत हो ।’’
उहाँलाई स्थानीय सरकारप्रति धेरै ठूलो आशा र अपेक्षा छैन तर बङगुर फार्मसम्म पुग्ने सडक राम्रो बनाइदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।
‘‘मलाई स्थानीय सरकारप्रति धेरै ठूलो आशा छैन तर सडकदेखि फार्मसम्मको सडक राम्रो बनाइदिए हुन्थ्यो भन्ने हुन्छ ।’’ थापाले भन्नुभयो, ‘‘बाटो नहुँदा दाना ल्याउन समस्या भइरहेको छ ।’’
कमल र मनुकमारी आफ्नै मेहनत र श्रममा उभिएका व्यक्ति हुन् । यस्ता व्यक्तिहरुलाई सरकार र समाजले सम्मान गर्ने वातावरण निर्माण गरेमात्र देश समृद्ध बन्न सक्छ ।