टोपलाल अर्याल
रेसुङ्गा, भदौ ११ गते । अविरल बर्सातका कारण रेसुङ्गा नगरपालिका–६ हर्राचौरका ४३ वर्षीय सूर्यप्रसाद आचार्यको गोठ भत्किएर एउटा भैंसी र पाडो मरे । आचार्यको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठ अविरल बर्सातको कारणले भत्किएको थियो ।
त्यस्तै, मुसिकोट नगरपालिका–रङ्गनामका ६६ वर्षीय जयबहादुर थापाको गोठ अबिरल बर्साका कारण भत्किँदा तीन गाई, एक बाच्छा र एउटा बाख्रा मरे । बर्सातकै कारण धुर्कोट गाउँपालिका–१ राले माधचौराका ३३ वर्षीय दिपेन्द्र विकको गोठ पूर्ण रुपमा क्षति भयो । केही समय अघि इस्मा गाउँपालिका–२ की बिमला दर्जीको दुई तले घर जलेर नष्ट बन्यो । आगोले दर्जीको घरसँगै साढे दुई तोलाको सुनको सिक्री, नगद तीस हजार रुपियाँ र लत्ता कपडासहित अन्नपात जलेर नष्ट भयो । यी जिल्लाका प्रतिनिधिमूलक घटना हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार एक वर्षमा ३६५ विपदका घटना भएका छन् । आर्थिक वर्ष २०८१/०८२ को असारदेखि साउन मसान्त बाढी डुवान ३३, पहिरो १२५, आगलागी ११२, हावाहुरी ५१, चट्याङ्ग ११ र अविरल वर्षाका ३३ घटना भएका छन् । बाढी डुवानबाट एक/एक जना महिला र पुरुषको मृत्यु भएको छ । भने पहिरोबाट महिला र पुरुष दुई/दुई जना तथा आगलागी र पहिरोबाट दुई बालबालिकाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।
आगलागी, चट्याङ र पहिरोबाट १८ जना व्यक्ति घाइते भएका छन् । पहिरोमा परेर एक महिला बेपत्ता छन् । आगलागी, बाढीपहिरो र चट्याङका कारण ९७ पशुचौपाय मरेका छन् । विपदका ३६५ घटनाबाट ९८ घर र ७९ गोठमा क्षति पुगेको छ । यी घरगोठ मध्ये अशिकांश पूर्ण रुपमा क्षति भएकाले १६ घरका ६३ जना विस्थापित भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । विपदका कारण चार सरकारी संरचना र नौ सवारी साधनमा समेत क्षति पुगेको छ । बिपत्का घटनामा तीन करोड २९ लाख ६६ हजार रुपियाँको अनुमानित भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।
बर्सात सुरु भएपछि वा सुख्खा समयमा पनि सडकको सास्ती स्थानीयले खेप्दै आएका छन् । विशेष गरेर मुख्य सडकमध्येकै कालिगण्डकी करिडोर धेरै पटक अवरुद्ध हुने गर्दछ । वर्षदिनमा करिडोर, रुद्रवेणी–वामी र रिडी–तम्घास सडक ७० भन्दा बढि पटक अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले निकालेको विवरणमा साउन महिनामा मात्रै जिल्लाका सडक ३८ पटक गरेर २१२ घण्टा अवरुद्ध भएका छन् । कालिगण्डकी करिडोर १३ पटक गरेर १०५ घण्टा, रुद्रवेणी वामी १७ पटक गरेर ५९ घण्टा, रिडी तम्घास पाँच पटक गरेर ३८ पटक, रिडी खर्ज्याङ्ग दुई पटक गरेर चार घण्टा तथा पनाह पुर्कोट सडक एक पटक दुई घण्टा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।