हिले समाचारदाता
हिले (धनकुटा), भदौ ११ गते । धनकुटाको सहिदभूमि–५ मा ढुङ्गैढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवाढाडा भन्ने गरेका छन् । निर्माणाधीन अरुण कोरिडोरबाट करिब तीन सय मिटरमाथिबाट सुरु हुने यो स्थानमा अरू पाँच सय मिटरमाथिसम्म ढुङ्गैढुङ्गा छन् । यहाँ धेरै र ठुलठुला ढुङ्गा रहेका छन् । अझ अनौठो त यहाँका ढुङ्गाभित्र धेरै ओडार रहेका छन् । ढुङ्गाकै मुनिबाट एकातिरबाट छिरेर अर्कोतिर निस्कन सकिने स्थानीय लालजित राई बताउनुहुन्छ । पूर्वाधार तथा प्रचारप्रसारको अभावमा यो स्थान ओझेलमा परेको छ । राईका अनुसार पर्यटनको प्रशस्त सम्भावना हुँदाहुँदै पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा यो स्थान ओझेलमा परेको हो ।
राई बान्तवा भाषामा किवा भनेको बाघ र ढाडा भनेको ओडार हो । बाघ बस्ने ओडारका रूपमा चिनिने यो स्थल निकै आकर्षक छ । यो स्थानमा ढुङ्गे पार्क, ‘रक पजल पार्क’ तथा पत्थरैपत्थरको करिब पाँच सय मिटरको उकालो साहसिक यात्रामा रमाउनेका लागि आकर्षक गन्तव्य बन्न सक्ने स्थानीय नगेन्द्र राई बताउनुहुन्छ । राई भन्नुहुन्छ, “यो स्थानमा अहिलेको पुस्तालाई बाघ बस्ने घरका रूपमा चिनाउन सकिन्छ, अहिलेका पुस्ताले चिडियाघरमा मात्र बाघ देखेका छन् तर प्राकृतिक रूपमा बाघ कसरी बस्थे भनेर देखाउन यो स्थान उपयुक्त छ ।”
अहिले यो स्थानको अधिकांश भाग ओढार तथा ढुङ्गा झाडीले ढाकेका छन् । सो स्थानसम्म पुग्ने सडक सहज छैन । त्यस्तै यही स्थाननजिकै लाबुवा खोङताङ गुफासमेत रहेको छ । करिब २० मिटर लामो यस गुफाका विभिन्न खण्ड रहेका छन् । नजिकैको अरुण नदीको मनोरम दृश्य र खोकुटार आदिले जोकोहीको मन लोभ्याउँछ । धनकुटाको हिले हुँदै खोकुबाट करिब १८ किलोमिटरको दुरीमा पुग्न सकिन्छ तर त्यहाँसम्म पुग्ने सहज बाटो नहुँदा धेरै कमलाई मात्र यस स्थानबारे जानकारी छ ।
यो स्थानको सरसफाइ र प्रचारप्रसारका लागि काम गरिरहेको सहिदभूमि गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष सफलमान राई भन्नुहुन्छ, “धनकुटाको हिले हुँदै यहाँसम्म सामान्य ट्र्याक खुल्ने काम त भएको छ, स्तरोन्नति हुन सकेको छैन । त्यसको पहल पनि गरिरहेका छौँ, त्यस्तै अरुण कोरिडोर पनि बन्दै छ, हामी हाम्रातर्फबाट सकेको पहल गरिरहेका छौँ ।”