• ११ भदौ २०८२, बुधबार

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनामा छलफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ११ गते । सञ्चालनमा आएको साढे तीन वर्षसम्म नियमित व्यावसायिक सञ्चालनमा आउन नसकेको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे सरकारले थप छलफल अघि बढाएको छ । 

अर्बौं रुपियाँ लगानी गरेर विमानस्थल निर्माण गरिए पनि सञ्चालनका लागि आवश्यक कार्यालय स्थापनामा भएका प्रगति र उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले अघि सारेको कार्ययोजनाबारे मङ्गलबार अर्थ मन्त्रालयमा छलफल भएको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायतको सहभागितामा छलफल भएको हो । 

दुई विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान कसरी गर्न सकिन्छ भन्ने र त्यसका लागि सरकारले गर्नुपर्ने दायित्वबारे छलफल भएको बैठकमा सहभागी पर्यटन मन्त्रालयका एक सहसचिवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भैरहवा विमानस्थल चलाउन मन्त्रीपरिषद्ले कुन निकायले के गर्ने भनेर तोकेको टाइमलाइनसहितको जिम्मेवारीको विषयमा आजको बैठक केन्द्रित रह्यो । बैठकमा सरकारको कार्ययोजना, विमानस्थल सञ्चालनबारे हालसम्म भएका प्रगति र प्रयासलगायत भिसा सेन्टर, अध्यागमन, भन्सारलगायतको तयारी र श्रम, स्वास्थ्य सुविधाको विषयमा छलफलसमेत भएको छ ।”

दुई वटै विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने उपायको खोजीमा बैठक केन्द्रित रहेको बताउँदै उहाँले  विमानस्थल सञ्चालनका लागि राज्यले हाल दिइरहेको सुविधा र गर्नुपर्ने दायित्वबारे समेत छलफल भएको उहाँको भनाइ छ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारवहनलाई व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

सरकारले गौतम बुद्ध र पोखरा 

अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवर्धन गर्न २०८३ भदौ मसान्तसम्मका लागि छुटैछुटका सुविधा दिएको छ । जस अन्तर्गत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको तीन हजार रुपियाँ यात्रु सेवा शुल्क पूर्ण रूपमा छुट गरिएको छ ।

त्यस्तै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा छुट, अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको एक हजार पर्यटन शुल्क पूर्ण रूपमा छुट र दुवै विमानस्थलमा लाग्दै आएको अन्तर्राष्ट्रिय हवाई उडानमा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ । 

यी दुई विमानस्थलमा नेपाल आयल निगमले दिने इन्धनमासमेत काठमाडौँभन्दा झन्डै दुई सय डलरसम्म सस्तो रहे पनि हाल दुई वटै विमानस्थलमा व्यावसायिक उडान ठप्प छ । भैरहवा विमानस्थलमा सन् २०२४ नोभेम्बरबाट २०२५ मार्चसम्म जजिरा एयरवेज, फ्लाइ दुबई, थाई एयर एसिया, नेपाल वायुसेवा निगम र कतार एयरवेजले नियमित उडान गरे पनि हाल उक्त सबै उडान काठमाडौँमै हुने गरेका छन् ।