शेरबहादुर राई
ओखलढुङ्गा, भदौ ११ गते । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६, घोराखोरीमा आगामी असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । जिल्लाको पश्चिमी क्षेत्रका भूगोललाई प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय सञ्चालन हुने भएको छ ।
नयाँ कार्यालय स्थापनासँगै चम्पादेवी र लिखु गाउँपालिकाका हजारौं नागरिकले अब नागरिकता लगायतका प्रशासनिक सेवा घर पाएक बाटै पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै देशभर २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको हो ।
यसअन्तर्गत जिल्लाको घोराखोरी पनि परेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । संघीय सांसद रामहरी खतिवडा, गाउँपालिका र जिल्ला प्रशासनको पहलमा स्थापना हुन लागेको हो । कार्यालयका लागि नौं रोपनी जग्गा व्यवस्था भइसकेको छ । गाउँपालिका अध्यक्ष नवराज केसीका अनुसार, नागरिकताको लागि यस क्षेत्रका नागरिक सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । गृह मन्त्रालयका अनुसार, भौगोलिक दुर्गमता, जनसङ्ख्या र सेवामा पहुँचमा देखिएको असमानता कम गर्न यो कदम चालिएको हो ।
जिल्लाको यो दोस्रो इलाका प्रशासन हो । यस अघि खिजीदेम्बा गाउँपालिकाको खिजीफलाटेमा इलाका प्रशासन कार्यलय सञ्चालनमा छ । यहाँ बाट खिजीदेम्बा र लिखु गाउँपालिकाका चार वटा वडाका नागरिकले सेवा लिएका छन् । लिखु गाउँपालिकाको बाँकी रहेका वडाका नागरिकले घोराखोरीबाट सेवा लिन सहज हुनेछ ।