• ११ भदौ २०८२, बुधबार

रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने

blog

कालीकोटको रास्कोट नगरपालिका इलाका प्रशासन स्थापना । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, भदौ ११ गते  ।
कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ का लागि रास्कोटमा इप्रका स्थापना गर्न लागिएको हो ।

गत बिहीबार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेसँगै मङ्गलबार इकाला प्रशासन स्वीकृत भएको हो ।

कठिन भौगोलिक अवस्थिति रहेको कालीकोटमा नागरिकता लगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न त्यस क्षेत्रका नागरिकलाई कठिनाइ छ । जनगुनासो सम्बोधन गर्दै सरकारले इलाका प्रशासन कार्यालय स्थापनाको लागि स्रोत सुनिश्चित गरेको रास्कोट घर भएका एमालेका निर्वतमान जिल्ला उपाध्यक्ष दयाराम सिम्खडाले बताउनुभयो ।

सरकारले देशका अन्य जिल्लासँगै कालीकोटको रास्कोटका लागि इलाका प्रशासन कार्यालय स्वीकृत भएको परिपत्र आएको सिम्खडाले बताउनुभयो ।

‘‘कर्णाली पारिका नागरिकको वर्षौं देखिको माग पूरा भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘अब नागरिकता बनाउनकै लागि कम्तीमा तीन दिनको समय र तीन हजार रुपियाँ बचत हुनेछ ।’’

उहाँले रास्कोट इलाका प्रशासनका लागि सबै दलले चुनावी मुद्दा बनाएको स्मरण गर्दै नरहरिनाथस्थित कोटबाडा विमानस्थल सञ्चालन, मान्म कोटबाडा केबुलकार वा लामो पुलको आवश्यकता रहेको सुनाउनुभयो ।

रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताउनुभयो । उहाँले नागरिकता बनाउनकै लागि सदरमुकाम पारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिनुभयो ।

सङ्घीयताको मर्म अनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भए पनि नरहरिनाथका नागरिकलाई रास्कोटभन्दा मान्म पायक पर्ने भएकाले सदरमुकाम बाटै नागरिकता लिने व्यवस्था हुनुपर्ने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको भनाइ छ । उहाँले नरहरिनाथका बासिन्दाका लागि मान्मलाई नै सेवा केन्द्र तोक्न सरकारसँग आग्रह गर्नुभयो । नरहरिनाथका करिब २५ हजार बासिन्दा र सान्नीत्रिवेणी १,२ र ३ का पाँच हजार बासिन्दाका लागि मान्म नजिक पर्छ ।

नरहरिनाथका बासिन्दाका लागि रास्कोट जान असजिलो र उल्टो बाटो पर्ने गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताउनुभयो । ‘‘प्रदेश निर्वाचन ‘ख’ अन्तर्गतका अन्य पालिकाका लागि रास्कोट पायक नै पर्छ,’’ उहाँले भन्नुभयो, ‘‘नरहरिनाथका बासिन्दालाई उल्टो र झन खर्चिलो हुने भएकाले हाम्रो लागि सदरमुकाम मान्म नै ठिक छ ।’’

इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकले सामान्य कामका लागि पनि सदरमुकाम धाउनु नपर्ने कालीकोटका सहायक प्रजिअ जनक शर्माले बताउनुभयो । निर्णय भएको खवर आएकाले तत्काल काम सुरु गर्ने शर्माको भनाइ छ ।