प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ ११ गते । रौतहटको गौर नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै मङ्गलबारदेखि कित्ताकाट खुलेको गौर नगरपालिकाले जनाएको हो ।
२०८२ साउन १ गतेदेखि गौर नगरपालिकामा कित्ताकाट रोक्का रहेको थियो । भू–उपयोग ऐन २०७६ तथा भू–उपयोग नियमावली २०७९ बमोजिम जग्गाको वर्गीकरण गरिएको नगरपालिकाका भवन तथा अबस्ती विकास उपशाखाका अमिन सुधिर यादवले बताउनुभयो ।
नगरपालिकाले मालपोत कार्यालय र नापी कार्यालय गौरमा जग्गा वर्गीकरण प्रतिवेदन र अद्यावधिक गरेको नक्सा तथा सोको सफ्टकपी पेस गरेको प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले जानकारी दिनुभयो । उक्त प्रतिवेदनको आधारमा नगरपालिकाको सबै वडाको जग्गा कित्ताकाट खुलेको हो । कृषि तथा गैर कृषि क्षेत्रमा जग्गाको वर्गीकरण गरिएको छ ।
कृषि क्षेत्रका जग्गाको हकमा दुई कठा तथा आवासीय क्षेत्रका जग्गाको हकमा ७ दशमलव ७५ धुरभन्दा कम क्षेत्रफलमा जग्गा कित्ताकाट गर्न पाइने छैन ।
विसं २०७९ जेठमा भू–उपयोग नियमावली जारी भएपछि स्थानीय तहलाई जग्गा वर्गीकरण गर्ने अधिकार दिएको थियो । त्यस बेला नियमावलीमा ६ महिनाभित्र जग्गा वर्गीकरण सक्नु पर्ने व्यवस्था गरिएको थियो ।
अधिकांश स्थानीय तहले जनशक्ति र प्रविधिको अभाव देखाउँदै तोकिएको समयमा जग्गा वर्गीकरण नगरेपछि थप एक वर्ष समय थपिएको थियो ।
त्यसपछि पनि दुई पटक अवसर दिँदा समेत जग्गा वर्गीकरण नगरेका स्थानीय तहहरूको २०८२ साउन १ गतेदेखि कानुन अनुसार वर्गीकरण नगरिएको जग्गामा कित्ताकाट रोकिएको छ । रौतहटमा गढिमाइ, कटहरिया, गरुडा,बौधीमाइ र मौलापुर नगरपालिकाको कित्ताकाट अझै पनि खुल्न सकेको छैन ।