गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ११ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा सरकारले साढे ३० अर्ब रुपियाँ ऋणबापतको सावाँ भुक्तान गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले आन्तरिक ऋणबापतको २७ अर्ब १० करोड रुपियाँ र वैदेशिक ऋणबापत तीन अर्ब ४५ करोड रुपियाँ भुक्तान गरेको हो ।
सरकारले चालु आवमा तीन खर्ब दुई अर्ब रुपियाँ सावाँ भुक्तानी गर्ने लक्ष्य राखेको छ ।
साउनमै सरकारले ४४ अर्ब ५७ करोड रुपियाँ ऋण पनि लिएको छ जसमध्ये ४० अर्ब रुपियाँ आन्तरिक र चार अर्ब ५७ करोड रुपियाँ वैदेशिक ऋण छ । सरकारले लिएको ऋणमा भुक्तान गरेको रकम कटाउँदा मुलुकले तिर्नुपर्ने कुल सार्वजनिक ऋणको आकार २६ खर्ब ८३ अर्ब रुपियाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादनको तुलनामा करिब ४४ प्रतिशत हुन आउँछ ।
मुलुकले तिर्नुपर्ने कुल ऋणमध्ये १२ खर्ब ८१ अर्ब रुपियाँ आन्तरिक ऋण रहेको कार्यालयले जनाएको छ । सरकारले स्रोत व्यवस्थापनका लागि समय समयमा विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र जस्ता ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउँछ । यस्तो ऋणपत्र अहिले कार्यालयले जारी गर्छ ।
त्यस्तै मुलुकले तिर्नुपर्ने वैदेशिक ऋण १४ खर्ब रुपियाँ नाघेको छ जुन कुल गार्हस्थ उत्पादनको २४.५८ प्रतिशत हुन आउँछ । सरकारले विश्व बैङ्क, एसियाली विकास बैङ्क जस्ता दातृ निकाय र जापान, नर्वेलगायत मुलुकबाट पनि वैदेशिक ऋण लिने गर्छ । पछिल्लो समय बजेटमा स्रोत व्यवस्थापनका लागि ऋणको हिस्सा बढ्न थालेको छ । चालु आवमा मात्रै सरकारले करिब छ खर्ब रुपियाँ ऋण लिने लक्ष्य राखेको छ ।