• ११ भदौ २०८२, बुधबार

बिर्तामोडमा सवारी साधन एकआपसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

blog

एकापसमा ठोक्किँएर दुर्घटना भएको सवारी साधान । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का  
बिर्तामोड, भदौ ११ गते ।
झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मङ्गलबार राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नं. को मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा भेन चालक शिवसताक्षी ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको थियो । उनको गाडीमै च्यापिएर निधन भएको हो ।  

दुर्घटनमा परी सोही भेनमा सवार शिवसताक्षी–७ बस्ने ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, छोरा १४ वर्षीय प्रसन्न साह, छोरी ९ वर्षीया प्रन्सा साह घाइते भएका छन् । चारैजना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पिकअप चालक धनकुटा महालक्ष्मी ८ बस्ने २४ वर्षीय सुमन पौडेल र दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण पूर्वपश्चिम राजमार्ग केहिवेर अवरुद्ध समेत बनेको थियो ।