• ११ भदौ २०८२, बुधबार

संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेमा खजुरा गाउँपालिका प्रथम

blog

खजुरा गाउँपालिका कार्यालय । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, भदौ ९ गते ।
बाँकेको खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका आठ स्थानीय तहमा सबैभन्दा बढी अङ्क ल्याएर प्रथम भइ उत्कृष्ट पालिका बनेको छ ।

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) का आधारमा खजुरा गाउँपालिकाले २०८०–८१ मा सबैभन्दा बढी ८५.७५ अङ्क ल्याएर जिल्लामा उत्कृष्ट पालिका बनेको हो ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अङ्क ल्याएर दोस्रो स्थानमा रहेका छन् भने जिल्लाको एक मात्र उपमहानगर नेपालगन्ज उपमहानगरपालिकाले ८२ अङ्क ल्याएर तेस्रो बनेको छ ।

सोही प्रकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिकाले ८१.७५, बैजनाथ गाउँपालिकाले ७६.५० र जानकी गाउँपालिकाले ७३ अङ्क पाएर क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा रहेका छन् ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा सुधार गर्न स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिएको छ ।

खजुरा गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५०, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क पाएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १२.५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७, सहकार्य तथा समन्वयमा ५.५० अङ्क ल्याएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले खजुरा गाउँ गाउँपालिका जिल्लामा उत्कृष्ट पालिका बन्न सफल हुनुमा कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गरेको तथा कर्मचारीले कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गरी अभिलेखीकरण गरेर उत्कृष्ट कार्य गरेकोले भएको बताउनुभयो ।