• ९ भदौ २०८२, सोमबार

फलफुल नर्सरीको टनेलभित्रै ‘अटोमेसन सिँचाइ’

blog

फलफुल नर्सरीको टनेलमा जडान गरिएको अटोमेसन सिँचाइ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ ९ गते ।
दक्षिण बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप जन्मघर भए पनि बागलुङ नगरपालिका–३ गौडाकोटलाई कर्मभूमि बनाउँदै आउनुभएका अगुवा कृषक गंगाबहादुर थापाले फुलफुलका बिरुवा हुर्काउन जिल्लामै पहिलोपटक विद्युत र इन्टरनेटमार्फत चल्ने ‘अटोमेसन सिँचाइ’ भित्र्याउनुभएको छ ।  

गौडाकोटमा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएका थापाले पाँच रोपनी जमिन भाडामा लिएर बागलुङ नगरपालिका–६ पञ्चकोटमा विद्युत र इन्टरनेटको प्रयोगले सिँचाइ गर्ने फलफुल नर्सरी सञ्चालनमा ल्याउनुभएको हो । ‘‘अटोमेसन विधिले घरमै बसेर बिरुवालाई आवश्यकता अनुसार सिँचाइ गर्न सकिन्छ’’ थापाले भन्नुभयो, ‘‘‘समय भए फर्ममा काम गर्छु, नभए घरबाटै मोबाइलको सहायताले सिँचाइ गर्छु ।’’

विद्युत र नेटवर्कमा समस्या आएमा धाराबाट थोपा सिँचाइ गर्ने विधि पनि जडान गरेकाले कुनै समस्या नभएको थापा बताउनुहुन्छ । थापाले वडा नं. ६ को भास्सा, पञ्चकोट र आसपासको स्थानमा सुन्तलाको वृहत नर्सरी बनाउनुभएको हो । वार्षिक ३० हजार रुपियाँ भाडा तिर्ने गरी स्थानीयको पाँच रोपनी जमिन लिएर थापाले ‘पञ्चकोट कृषि नर्सरी’ सञ्चालनमा ल्याउनुभएको हो । ‘टाइफ्लेट’ नामक जङ्गली तिनपाते बिरुवाको जरामा स्थानीय ‘खोकु’ जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्पादन गरिने थापाले बताउनुभयो ।

थापाको नर्सरी टनेल अटोमेसन प्रविधिको छ । अटोमेसन प्रविधिका लागि २० लाख रुपियाँ लगानी भएको थापाले जानकारी दिनुभयो । अटोमेसन सिँचाइका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलङले प्रविधि र लागत साझेदारीमा साथ दिएको हो । परियोजनाबाट फर्मलाई चार लाख लगानी प्राप्त भएको थापाले बताउनुभयो । थापाको फर्ममा पाँच हाइटेक टनेल छन् । परियोजना प्रमुख नारायण पौडेलले थापाको फर्ममा जिल्लामै नविनतम प्रविधि भित्रिएको बताउनुभयो ।

थापाले यो क्षेत्रका किसानलाई अटोमेसन सिँचाइको नर्सरी बनाउने र बाँझीएको जमिनमा सुन्तला फलाउन प्रेरित गर्ने योजना बनाउनुभएको छ । थापाले म्याग्दीको भकिम्लीमा पनि एक सय रोपनी जमिनमा समूहमा मिलेर सुन्तला, किवी र तरकारी खेती गर्दै आएको सुनाउनुभयो । गौडाकोट, पञ्चकोट र भकिम्लीमा फर्म सञ्चालन गर्नुभएका थापाले कृषि पर्यटन प्रवर्धन गर्ने लक्ष्य बनाउनुभएको छ । धार्मिक पर्यटक बढिरहेको पञ्चकोट कृषि पर्यटनको हब बन्ने सम्भावना छ’’ थापाले भन्नुभयो ।

व्यवसायिक तरकारी खेतीमा थापाको लगाव देखेर तत्कालिन मुख्य सचिव लिलामणि पौडेलले २०७२ सालमा बागलुङ आएर पहिलो किसान परिचयपत्र प्रदान गर्नुभएको थियो । ३५ रोपनीभन्दा बढी जमिन भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएका थापाले वार्षिक १५ देखि २० लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।