• ९ भदौ २०८२, सोमबार

भाडगाउँको शिवालय मन्दिर ३७ वर्षपछि पुनर्निर्माण

blog

रेसुङ्गा नगरपालिका–३ उपल्लोतम्घासको शिवालय मन्दिर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, भदौ ९ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ उपल्लो भाडगाउँमा रहेको शिवालय मन्दिर पुर्निर्माणपछि आकर्षक बनेको छ । एक करोड रुपियाँ बढिको लागतमा शिवालय मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिरमा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरेर अखण्डदिप प्रज्जवलन भइरहेको छ । यो मन्दिर २०४४ सालमा शिलन्यास गरेर २०४५ सालमा स्थापना गरिएको थियो । करिव चार दशकदेखि मन्दिरमा निरन्तर पूजा हुँदै आएको छ ।

अहिले मन्दिरको पुनर्निर्माण गरिएको छ । मन्दिर निर्माणका लागि २०७९ सालमा तत्कालिन रेसुङ्गा नगरपालिकाकाबाट ५० लाख रुपियाँ र पर्यटन कार्यालयबाट पाँच लाख रुपियाँ विनियोजन भएको मन्दिर निर्माण समिति अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो । यस मन्दिरको डिजाइन र निगरानी रेसुङ्गा नगरपालिकाका सब इन्जिनियर चक्र केसीबाट भएकाले निकै आर्कषक मन्दिर निर्माण भएको पाण्डेले बताउनुभयो ।

पछिल्लो दुई वर्ष लुम्बिनी प्रदेश सरकारबाट ४५ लाख र रेसुङ्गा नगरपालिकाबाट पाँच लाख रुपियाँ विनियोजन गरेर मन्दिरको थप काम भएको समितिले जनाएको छ । अहिलेसम्म  मन्दिरका लागि एक करोड पाँच लाख रुपियाँ खर्च भएको छ । विभिन्न संस्था र स्थानीयको सहयोगमा भारतबाट नर्मदेश्वर शिवलिङ्ग ल्याएर गत साउन १५ गते मन्दिरमा स्थापना गरिएको छ । प्रत्येक सोमबार रुद्री र चण्डी पाठ हुँदै आएको छ ।

रेसुङ्गा हुँदै साउनेको शक्ति मन्दिरमा रहेकाले भाकल गरेका सवै कुरा पूरा हुने विश्वास रहेको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष बाबुराम मरासिनीले बताउनुभयो । उहाँले सदरमुकाम तम्घासदेखि तीन किलोमिटर हिँडेपछि उपल्लो भाडगाउँ रहेकाले भक्तजनहरुलाई दर्शन गर्न सकिने बताउनुभयो । उहाँले तम्घासबाट भाडगाउँ र साउने हुँदै रेसुङ्गा जान सकिने भएकाले धार्मिक पथको रुपमा विकास गरिने बताउनुभयो ।

गाउँका २७० कुरियाको भेटी संकलन गरेर भारतबाट शिवलिङ्ग स्थापना गरेकाले दैनिक बिहानसाँझा अखण्डदिपसँगै नृत्यकर्म चरिरहने मरासिनीले बताउनुभयो । मन्दिरको गेट, भजनकृतको लागि शितलपाटी व्यावस्थापन गर्न पर्ने अवस्था रहेको मन्दिर व्यावस्थापन समितिका सचिव यमलाल पाण्डेले बताउनुभयो । यातयातको असुविधा र प्रचारप्रसारको कमीको कारण ओझेलमा परेको शक्तिशाली मन्दिरलाई रेसुङ्गासँग जोडेर अगाडि बढाइने रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताउनुभयो ।