देवराम यादव
सप्तरी, भदौ ९ गते । सप्तरीका तीन वटा सरकारी प्राथमिक विद्यालयका बालबालिका कम्प्युटर तालिम लिँदै आएको छ । सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाई अभियानअन्तर्गत कञ्चनरूप नगरपालिकाका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालयका बालबालिकाले कम्प्युटर तालिम लिँदै आएका हुन् ।
भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुरमा कम्प्युटर तालिम नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतित्थमा सुरू गरिएको थियो भने राष्ट्रिय प्राथमिक विद्यालय, पिपरामा आयोजित बालबालिकालाई कम्प्युटर तालिम कार्यक्रम दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यसैगरी, वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुरमा सो तालिमको सुरूवात कञ्चनरूप नगरपालिका–१२ का वडाध्यक्ष देबी बहादुर खत्रीको प्रमुख आतित्थमा भएको थियो ।
गुणस्तरमा अत्यन्तै पछि परेका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई सानै उमेरदेखि कम्प्युटरको शीप सिकाउन अभियान आरम्भ गरिएको जानकारी आयोजकहरूले दिएका छन् ।
रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा यो अभियान थालिएको हो ।
तालिमका लागि कम्प्युटर एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्युटर र अङ्ग्रेजी सिकाउने शिक्षक दलित सरोकार मञ्चले व्यवस्था गरेको छ ।
हालै तीन वटा विद्यालय प्रत्येकलाई दुई वटाका दरले हस्तान्तरण गरिएको कम्प्युटरमा यी विद्यालयका बालिबालिका सिक्न थालेका हुन् ।
अभियान अन्तर्गत् छनौट गरिएका सरकारी प्राथमिक विद्यालयका शिक्षकरशिक्षिकाहरूलाई समेत आधारभूत कम्प्यूटर तालिम भईरहेको जानकारी रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो ।
एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इञ्जिनियर प्रदीप कुमार पौड्यालका अनुसार रूपनगर क्याम्पसले छनौट गरिएका विद्यालयका १४ जना शिक्षकरशिक्षिकालाई दुई महिने आधारभूत कम्प्यूटर तालिम निशुल्क दिइराखेको छ। प्रमाणपत्र समेत उपलब्ध गराइने यो तालिम रूपनगर नन्दराज संग्रौला क्याम्पसको कम्प्यूटर प्रयोगशालामा एक महिनादेखि चल्दै आएको छ ।
यस अभियानमा राम्रो प्रगति भयो भने आगामी दिनमा यसलाई अझ विस्तार गर्न सकिने दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले बताउनु भयो ।
एक्मी इञ्जिनियरिङ कलेजले दिएको कम्प्यूटर र दलित सरोकार मञ्चले उपलब्ध गराएको शिक्षकबाट सञ्चालन भईरहेको यस नवीन शिक्षा अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कन रूपनगर क्याम्पसले गरिने जनाएको छ । अनुगमन तथा मूल्याङ्कनका लागि क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको छ ।