लीलाराज खड्का
बिर्तामोड, भदौ ७ गते । झापाको कनकाई नगरपालिका–१, खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान स्थानीय ३७ वर्षीय पङ्कज माझीले बिजुलीको पोलमा तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।
यता झापाको कमल गाउँपालिका-३, केराधापमा मोटरसाइकलको ठक्करबाट ८८ वर्षका एक वृद्धको ज्यान गएको छ । प्रदेश १–०१ –०१६ ५१०५ नम्बरको मोटरसाइकल को ठक्करबाट घाइते भएका सो ठाउँका ८८ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको हो ।
श्रेष्ठको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।