• ७ भदौ २०८२, शनिबार

युवालाई मौलिक संस्कृतिको बोध गराउन जरुरी : मन्त्री थापा

blog

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री वीरबहादुर थापा । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ७ गते । सुदूरपश्चिमका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले युवा पुस्तालाई मौलिक संस्कृति र परम्पराको बोध गराउन आवश्यक रहेको बताउनु भएको छ । 

हिरगर साहित्यिक बगालको आज धनगढीमा पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । विज्ञान र प्रविधिको विकासका कारण युवाले आफ्नो संस्कृति, संस्कारलाई भुलेर छिट्टै पश्चिमा संस्कृति अनुशरण गरिरहेकोले ध्यान दिनु पर्ने मन्त्रीको भनाइ थियो । उहाँले थारू समुदायले नीति निर्माण गर्नेहरुलाई आफ्नो संस्कृतिको बारेमा बुझाउन आवश्यक रहेको बताउनुभयो । “सही तरिकाले नबुझाइएसम्म नीति निर्माण गर्ने तपाईंहरूको आफ्नो अपनत्व हुने गरी काम गर्न सक्दैनन्”, उहाँले भन्नुभयो । 

सामाजिक अभियान देश निर्माणको एउटा पाटो रहेको भन्दै मन्त्री थापाले साहित्यमार्फत समाज र समुदायलाई एकताबद्ध बनाउने दायित्व साहित्यिक संस्था र युवाका काँधमा रहेको उल्लेख गर्नुभयो । “यहाँ केही पनि छैन भन्ने भाष्य सृजना गरेर युवालाई विदेश जान बाध्य पारिदैँछ”, उहाँले भन्नुभयो,“त्यसकारण हामीले सकारात्मक कुरा अगाडि बढाउनु पर्दछ । यहाँ थुप्रै सम्भवाना छन् ।”

त्यस्तै, सामुदायिक वन उपभोक्ता महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष झुमा चौधरीले भाषा, साहित्य जोगाउनका लागि युवाको भूमिका महत्त्वपूर्ण रहेको औंल्याउनुभयो । उहाँले थारू समुदायको पुरानो संस्कृति, परम्परा जोगाउन जरुरी रहेको बताउनुभयो । 

थारू बुद्धिजिवी चन्द्रसिंह चौधरीले थारू समुदाय कला, संस्कृतिमा धनी रहेको भन्दै यसका बारेमा नयाँ पुस्तालाई बुझाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भाषा, साहित्य, संस्कृति संरक्षणमा हिरगर साहित्यिक बगालले अझै क्रियाशीलता बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले साहित्य समाजको ऐना रहेको उल्लेख गर्दै थारू समुदाय साहित्यमा धनी रहेको बताउनुभयो । कार्यक्रममा थारू कल्याणकारिणी सभाका पूर्व सचिव माधव थारू, अधिवक्ता वीरेन्द्र चौधरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रबन्धक पदम रानाले थारू साहित्यको चर्चा गर्नुभयो ।

कार्यक्रममा हिरगर साहित्यिक बगालका अध्यक्ष हिरालाल सत्गौंवाले कला, साहित्य, सामाजिक सांस्कृतिक विकासका लागि आफ्नो संस्थाले काम गर्दै आएको बताउनुभयो ।