• ७ वैशाख २०८१, शुक्रबार

मिस नेपालको अभिनय यात्रा

blog

विजयरत्न तुलाधर

सौन्दर्य प्रतियोगिता हिजोआज धमाधम बढ्दै छन् । यस्ता प्रतियोगितामध्ये सबैभन्दा पहिलो र प्रतिष्ठित मानिँदै आएको ‘मिस नेपाल’ नै हो । यो सौन्दर्य प्रतियोगिताको आधिकारिक आयोजक ‘हिडन् ट्रेजर’ हो । सन् १९९४ देखि आरम्भ भएको मिस नेपाल सौन्दर्य प्रतियोगिताको उपाधि यस वर्ष प्रियङ्का रानी जोशीले प्राप्त गर्नुभएको छ । प्रियङ्कासम्म आइपुग्दा २५ जनाले यो उपाधि हासिल गरिसक्नुभएको छ । 

मिस नेपाल उपाधि जितिसकेपछि केहीले चलचित्रमा अभिनय गरेका छन् । पहिलो मिस नेपाल रुबी राणाले नै यसको सुरुवात गर्नुभयो तर यस वर्षकी मिस नेपाल प्रियङ्का रानी जोशीले भने चलचित्रमा अभिनय गर्नेबारे केही सोच्नुभएको छैन । उहाँले भन्नुभयो, “चलचित्र जगत् एकदम राम्रो र ठूलो उद्योग हो । यसमा हचुवाका भरमा प्रवेश गर्नु हुँदैन । मैले अभिनय गर्न जानेको पनि छैन । त्यसमाथि अहिले म मिस वल्र्ड कन्टेस्टमा केन्द्रित छु ।” 

उहाँले थप भन्नुभयो, “मैले यताउता केही सोच्नु हुँदैन । मेरो लक्ष्य भनेको मिस वल्र्डमा सकेसम्म उपाधि नै हासिल गर्ने हो । यसमा मलाई सफल हुनु छ । म मिस वल्र्ड कन्टेस्टमा कुनै न कुनै उपाधि जितेर आउने लक्ष्यसहित अगाडि बढिरहेको छु । मिस वल्र्ड कन्टेस्टमा ब्युटी विथ पर्पस र टप मोडल भन्ने उपाधि छ । यी दुवै विधाबाट सिधै टप टेनमा पुग्न सक्ने सम्भावना पनि रहेछ । यसमा एकदमै राम्रो गरेर देखाउने कोसिसमा छु । त्यसैले चलचित्रमा अभिनय गर्नतिर म लाग्दिनँ ।” 

मिस नेपाल घोषित हुनुभन्दा अघि शिक्षण पेसामा संलग्न रहँदै आउनुभएकी राणाले सन् १९९४ मा मिस नेपालको उपाधिसँगै सौन्दर्य (ग्लेमर) संसारमा प्रवेश गर्नुभयो । उहाँले २०/२२ वर्षअघि ‘अनमोल’मा राजेश हमालसँग र ‘भुतुक्कै भएँ नि’मा सुनिलदत्त पाण्डेसँग नायिका भएर अभिनय गर्र्नुभयो । यी दुवै चलचित्रले आशातीत सफलता हासिल गर्न नसकेपछि राणाले चलचित्र अभिनयबाट बिदा लिनुभयो र ललितपुरको कुपण्डोलमा ब्युटी पार्लर खोलेर सौन्दर्य पेसाकर्मीका रूपमा आफ्नो यात्रा अगाडि बढाउनुभयो । 

अभिनयको लत एक पटक लागेपछि छोड्न गाह्रो हुन्छ भन्ने कथनलाई चरितार्थ गर्दै राणा पुनः १२ वर्षपछि फेरि अभिनयमा फर्कनुभयो । यसै क्रममा उहाँले ‘अन्तराल’ चलचित्रमा सहभूमिकामा अभिनय गर्नुभयो । यसपछि उहाँले ‘आधी बाटो’ र ‘सिसा’ आदि केही चलचित्रमा पनि सहभूमिकामा नै अभिनय गर्नुभयो । उहाँको यो पुनरागमन पनि फलिफाप हुन सकेन । 

अहिलेसम्मका मिस नेपाल भएकामध्ये जम्माजम्मी नौ जनाले चलचित्रसँग साइनो गाँस्ने प्रयत्न गरेका छन् । आश्चर्यलाग्दो कुरा त यो छ कि मिस नेपालको उपाधि नै जितेकाहरूबाहेक यो प्रतियोगिताका सहविजेता वा उपविजेतामध्ये धेरै थोरैले मात्रै चलचित्र क्षेत्रसित नाता गाँस्ने प्रयत्न गरेका छन् । तीमध्ये सन् १९९७ को प्रतिस्पर्धामा झरना वज्राचार्य ‘मिस वल्र्ड नेपाल’ हुँदा ‘फस्र्ट रनर अप’ भएकी मीनाक्षी बन्दना शर्माले अभिनयमा रुचि त देखाउनुभयो तर उहाँले पनि कुनै नेपाली चलचित्रमा नभई हिन्दी टेलिसिरियलहरू ‘हम फिर मिलेङ्गे’, ‘करीना करीना’, ‘कामिनी दामिनी’ र 

‘किट्टो’मा मात्रै अभिनय गर्नुभयो । त्यसबाहेक सन् २०१० की ‘फस्र्ट रनर अप’ सहाना वज्राचार्यले पनि चलचित्रमा अभिनय गर्ने रुचि देखाउनुभएको थियो । उहाँ त्यतिबेला ‘कलिउड’ चलचित्रमा नायिकाका रूपमा अनुबन्धित हुनुभएकी थिइन् । कारणवश उहाँले त्यो चलचित्रमा भने अभिनय गर्नुभएन । त्यति मात्र नभई उहाँले चलचित्रमा अभिनय गर्ने मोह नै त्याग गर्नुभयो । हुन त केही समयपछि सहाना वज्राचार्यले ‘गुडबाई काठमाडौँ’ नामक चलचित्रमा अभिनय गर्नुभयो तर यो चलचित्र निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि प्रदर्शनमा भने आएको छैन । 

मिस नेपाल प्रतियोगितामा उपविजेतासम्म भएकाहरूले भने अभिनयमा कुनै विशेष रुचि देखाएको पाइएन । मिस नेपाल नै बन्न सफल भएका २५ जनामध्ये सुमी खड्का, झरना वज्राचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठ, निकिता चन्दक र रुबी राणाले मात्रै नायिकाका रूपमा यात्रा अगाडि बढाए । 

सन् २००२ मा मिस नेपाल बन्नुभएकी माल्भिका सुब्बाले पनि ‘गुडबाई काठमाडौँ’मा अभिनय गर्नुभयो । यदि यो चलचित्र समयमै प्रदर्शनमा आएको भए यी दुईको अभिनय यात्राले शायद अर्को मोड लिन सक्थ्यो होला । माल्भिका सुब्बाले नेपालमै सुटिङ भएको हिन्दी चलचित्र ‘गड लिभ्स इन् हिमालय’मा पनि अभिनय गर्नुभयो । अभिनय यात्रा अगाडि बढ्न नसकेपछि माल्भिका सुब्बाले निर्माताका रूपमा चलचित्रसँग आफ्नो नाता कायम राख्ने प्रयत्न गर्नुभयो र ‘हाउ फन्नी’ चलचित्र निर्माण गर्नुभयो । 

पहिलो मिस नेपाल रुबी राणाले कोरेको गोरेटो पछ्याउँदै दोस्रो वर्षकी मिस नेपाल सुमी खड्का पनि नायिकाका रूपमा नै चलचित्रमा प्रवेश गर्नुभयो । उहाँले ‘ग्रहण’ र ‘सुपरस्टार’ चलचित्रमा अभिनय गर्नुभयो । सुमी खड्काकी दिदी सुमन खड्काले पनि ‘जलन’ चलचित्रमा अभिनय गर्नुभयो तर दुवै दिदीबहिनीको अभिनय यात्रा भने अगाडि बढ्न सकेन । यसरी मिस नेपालको अभिनय यात्राले कुनै प्रभाव पार्न सकेन । त्यसैले होला, सन् १९९९ की मिस नेपाल पुनम घिमिरे सफ्टवेयर र सन् १९९७ की मिस नेपाल नीलिमा गुरुङ महिला फिजिकल फिट्नेसको व्यवसायमा लाग्नुभयो । मिस नेपालका आयोजकहरूबीच विवाद उत्पन्न भएपछि सन् १९९७ मा एक पक्षले ‘मिस वल्र्ड नेपाल’ भनेर बेग्लै प्रतियोगिता आयोजना गरे । यस प्रतियोगिताको उपाधि झरना वज्राचार्यले जित्नुभएको थियो । 

मिस नेपालहरूको अभिनय यात्रालाई सन् १९९७ की मिस वल्र्ड नेपाल झरना वज्राचार्यले निरन्तरता नै दिनुभयो । ‘हतियार’ चलचित्रबाट यस क्षेत्रमा पदार्पण गरेकी झरना वज्राचार्यले ‘शुभकामना’, ‘सिउँदोको सिन्दुर’, ‘भाइटीका’, ‘सञ्जीवनी’, ‘कोही मेरो’, ‘सेफ ल्यान्डिङ’लगायत एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गर्नुभयो । दर्शक र चलचित्रकर्मीबीच उहाँको अभिनयको प्रशंसा पनि भयो । अभिनय प्रतिभा मात्रै होइन, एक नायिकामा हुनुपर्ने सबै गुणले सम्पन्न भए पनि उहाँले अभिनय गर्नुभएका चलचित्रहरूले भने व्यावसायिक सफलता प्राप्त गर्न सकेनन् । यसैबीच उहाँले ‘लभ इन् नेपाल’ हिन्दी चलचित्रमा पनि अभिनय गर्ने अवसर पाउनुभयो । भारतका विख्यात गायक सोनु निगमले नायकका रूपमा अभिनय गरेको यस चलचित्रको सुटिङ नेपालमै गरिएको थियो । बलिउड प्रवेश गर्न पाउने आशा पालेर नै होला, उहाँले यस चलचित्रमा ज्यादै उत्तेजक नृत्य गर्नुभयो तर उहाँको यो चलचित्रले भारतको चलचित्र बजारमा कुनै छाप छोड्न सकेन । नेपालमा पनि उत्तेजक नृत्यका कारण उहाँको कडा आलोचना भयो । 

यसरी विभिन्न आरोह अवरोहको सामना गर्दै अगाडि बढेको झरना वज्राचार्यको अन्तिम चलचित्र ‘सेफ ल्यान्डिङ’ हो तर उहाँका ‘सेफ ल्यान्डिङ’, ‘रङ्गीन मनशाय’, ‘दिदीबहिनी’लगायत कतिपय चलचित्र प्रदर्शन हुन पाएनन् । ‘सेफ ल्यान्डिङ’ चलचित्रका निर्मातामध्ये एक राहुल अग्रवालसँग उहाँ वैवाहिक बन्धनमा बाँधिनुभयो र अहिले मलेसियामा बस्नुहुन्छ ।  झरना वज्राचार्य जत्तिकै आकर्षक अनि अभिनय प्रतिभाकी धनी मलिना जोशी सन् २०११ की मिस नेपाल हुनुहुन्छ । उहाँले सन् २०१३ मा ‘ऋतु’ चलचित्रबाट अभिनय क्षेत्रमा पदार्पण गर्नुभयो । ‘झुम्की’, ‘संरक्षण’, ‘द विनर’लगायत एक दर्जनभन्दा बढी चलचित्रमा उहाँले अभिनय गर्नुभयो । अरू मिस नेपालको जस्तै मलिना जोशीका चलचित्रले पनि दर्शकको मनमा कुनै छाप छोड्न सकेनन् । यसरी मिस नेपालहरूले चलचित्रमा गरेको अभिनयले कुनै प्रभाव छाड्न सकेनन् । यो यात्रामा अपवादका रूपमा सृष्टि श्रेष्ठले अभिनय गरेको पहिलो चलचित्र ‘गाजलु’ भने सफल भयो । 

सृष्टि श्रेष्ठले सन् २०१२ मा मिस नेपालको उपाधि जित्नुभएको हो । उहाँले तीन वर्षअघि ‘गाजलु’बाट अभिनय सुरु गर्नुभएको थियो । अभिनेता अनमोल केसीसँग नायिकाका रूपमा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएकी सृष्टिले पहिलो चलचित्रबाटै नसोचेको सफलता हासिल गर्नुभयो । अहिलेसम्ममा उहाँको यही एउटा मात्रै चलचित्र प्रदर्शनमा आएको छ । उहाँको अर्को चलचित्र ‘रोमियो एन्ड मुना’ प्रदर्शनको क्रममा छ । हाल अभिनेता सौगात मल्लसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी सृष्टि श्रेष्ठलाई नेपाली चलचित्रभन्दा पनि हिन्दी चलचित्रमा खेल्ने रुचि रहेको कुरा उहाँको बोली र व्यवहारबाट प्रस्टिन्छ । यसै क्रममा उहाँ बेलाबखत मुम्बई पनि गइरहनुभएको छ । बलिउडको विख्यात चलचित्र निर्माण कम्पनी यशराज फिल्म्सले निर्माण गर्ने एक चलचित्रमा उहाँ अनुबन्धित भइसकेको चर्चा चले पनि अहिलेसम्म पुष्टि भने भएको छैन ।  चलचित्रसित साइनो गाँसेका अन्य मिस नेपालमा जेनिशा मोक्तान, उषा खड्गी र ईशानी श्रेष्ठको नाम पनि यहाँ उल्लेखनीय हुन आउँछ । सन् २०१३ की मिस नेपाल ईशानी श्रेष्ठले मिस नेपालको उपाधि जित्नुभन्दा पहिले नै चलचित्रमा अभिनय गरिसक्नुभएको थियो । शिव श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘लक्ष्मण रेखा’मा उहाँले बालकलाकारका रूपमा अभिनय गर्नुभएको थियो । चलचित्र सङ्घद्वारा आयोजित मोसन पिक्चर अवार्डमा उहाँको यो अभिनयलाई सर्वश्रेष्ठ बालकलाकारको पुरस्कार प्रदान गरिएको थियो । 

यस्तै सन् २००९ की मिस नेपाल जेनिशा मोक्तानले नम्रता श्रेष्ठ र आर्यन सिग्देलको ‘मेरो एउटा साथी छ’ चलचित्रमा सहभूमिकामा अभिनय गर्नुभयो भने सन् २००० की मिस नेपाल उषा खड्गीले केही म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।