• ८ वैशाख २०८१, शनिबार

महानगरपालिकाको बजेट, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

blog

काठमाडौँ, असार ११ गते । मुलुकका छवटा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गरेका छन् । ७५३ स्थानीय तहमध्ये छवटा महानगरपालिका विराटनगर, वीरगञ्ज, काठमाडौँ, ललितपुर, भरतपुर र पोखराले शुक्रबार आव २०७९-८० को बजेट सार्वजनिक गरेका हुन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० भित्र आगामी आर्थिक वर्षको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार ललितपुर महानगरपालिका आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । 

छवटा महानगरमध्ये काठमाडौँ महानगरको बजेट सबभन्दा बढी छ । काठमाडौँ महानगरले झन्डै साढे २५ अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको छ भने सबैभन्दा कम वीरगञ्ज महानगरले तीन अर्ब ३३ करोड ६३ लाख रुपियाँको बजेट ल्याएको छ । महानगरहरूले बजेटमा पूर्वाधार विकास र सामाजिक विकास तथा सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् ।

काठमाडौँ:  सात अर्बले बढ्यो

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट नगर सभामा पेस गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख रुपियाँको बजेट पारित गरेको थियो । आगामी वर्षका लागि सात अर्ब रुपियाँ बढाएर बजेट सभामा पेस गरेको हो ।

यसैगरी खर्चतर्फ आर्थिक विकास क्षेत्रका लागि ५० करोड २१ लाख, प्रशासनिक क्षेत्रका लागि चार अर्ब ६८ करोड ९८ लाख, पूर्वाधार विकास लागि ११ अर्ब आठ करोड ९८ लाख रुपियाँ विनियोजन गरिएको छ । सामाजिक विकासका लागि एक अर्ब ६२ करोड २८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि चार अर्ब ४६ करोड ५८ लाख रुपियाँ गरी क्षेत्रगत रूपमा बजेट विनियोजन गरेको महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो । 

महानगरपालिकाको आय आगामी आर्थिक वर्षमा २२ अर्ब ३६ करोड ९५ लाख रुपियाँ आम्दानी (सञ्चित कोषमा जम्मा) हुने अनुमान गरिएको छ, जसमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान एक अर्ब ३१ करोड ३७ लाख, आन्तरिक आय ११ अर्ब ९५ करोड, बैङ्क मौज्दातसमेत गरी १६ अर्ब ८० करोड एक लाख, राजस्व बाँडफाँटतर्फ तीन अर्ब ४१ करोड ३७ लाख समानीकरण अनुदानतर्फ ८४ करोड १९ लाख रुपियाँ रहेको छ । 

पोखरा: पूर्वाधारमा ५१ प्रतिशत

महानगरपालिकाको ११औँ नगर सभाले आगामी आर्र्थिक वर्षका लागि आठ अर्ब ७७ करोड ७५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा नगर कार्यपालिकाको कार्यालयतर्फ एक अर्ब २५ करोड, सामाजिक विकासमा दुई अर्ब छ करोड, शिक्षामा एक अर्ब ४९ करोड, स्वास्थ्यतर्फ ५० करोड आठ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयतर्फ ७२ करोड र पूर्वाधारतर्फ चार अर्ब ५३ करोड रुपियाँ खर्च विनियोजन गरिएको छ । सबैभन्दा बढी पूर्वाधारतर्फ ५१ प्रतिशत बजेट रहेको छ । 

बजेटको आम्दानीतर्फ सङ्घीय अनुदानबाट दुई अर्ब ५८ करोड, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट तीन अर्ब एक करोड बेहोरिने उल्लेख छ । साथै राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख आम्दानी हुने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सार्वजनिक गर्नुभयो । प्रदेश राजस्व बाँडफाँटमा एक करोड ४२ लाख रकम प्राप्त हुनेछ । 

बजेटका प्राथमिकतामा पर्यटन प्रवद्र्धन, हरित सहर विकास, उत्पादनशीलता र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, संवद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास रहेका छन् । यस्तै संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मानव स्रोत विकासमा जोड दिइएको छ ।

बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै नेकपा एमालेतर्फबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको थियो । नगर सभा सुरु हुनेबित्तिकै एमाले दलका नेता राधिका शाही योगीले रातो किताब च्यात्दै बजेटमा आफूहरूको सहभागिता नहुने बताउनुभएको थियो । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको थियो । त्रुटि सच्याउने सहमतिपछि बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो । यस विषयमा नगरप्रमुख धनराज आचार्यले किताब मस्यौदा मात्र भएको र अन्तिम रातो किताब नभएको बताउनुभएको थियो ।

ललितपुर: २३ प्रतिशतले वृद्धि

ललितपुुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि छ अर्ब ३५ करोड ३५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रथम नगर सभामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सो बजेट पेस गर्नुुभएको हो । यो बजेट चालू आर्थिक वर्षको तुलनामा एक अर्ब १८ करोड रुपियाँले बढी हो । यो झन्डै २३ प्रतिशतले बढी हो । आव २०७८-७९ मा ललितपुर महानगरपालिकाले पाँच अर्ब १७ करोड रुपियाँको बजेट ल्याएको थियो । महानगरपालिकाले शिक्षा, वातावरण, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकता राखेर बजेट ल्याएको छ ।

नगरप्रमुख चिरीबाबुु महर्जनले बजेटमा सार्वजनिक गरिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुुभयो । कोभिडका कारण चालू आर्थिक वर्षको बजेट कार्यान्वयन कमजोर रहे पनि आगामी आर्थिक वर्ष पुँजीगत खर्च बढाएर जाने उहाँले जानकारी दिनुुभयो । ललितपुर महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेको छ । महानगर क्षेत्रभित्र आठवटा नगर बस सञ्चालन गर्ने, २५ वटा पार्क निर्माण गर्ने, ३४ वटा स्मार्ट शौचालय निर्माण गर्ने, डेडिकेटेड साइकल लेन बनाउने, ज्येष्ठ नागरिकलाई पाँच हजार रुपियाँ दशैँ खर्च दिने, मेलम्चीको वैकल्पिक पानीको स्रोतका रूपमा मकवानपुरको सिस्नेरीबाट पानी ल्याउन विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नेलगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ । 

ललितपुर महानगरले नगरवासीका गुुनासो सुन्नका लागि कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडक कम्तीमा दुई वर्षसम्म खन्न स्वीकृति नदिने महानगरले लिएको छ । ललितपुर महानगरपालिकाले ‘डा. सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ । महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै सङ्घसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो ।

भरतपुर : पाँच अर्बको बजेट 

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ७४ करोड ४२ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यो चालू आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । चालू आर्थिक वर्षको बजेट चार अर्ब ८५ करोड रुपियाँको छ । भरतपुर महानगरपालिकाको ११औँ नगर सभामा शुक्रबार उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेस गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक आय एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, सङ्घ तथा प्रदेशको राजस्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ । महानगरको बैङ्क मौज्दात एक अर्ब ३० करोड रुपियाँ रहेको छ । 

महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई दुई करोड ५० लाख रुपियाँका दरले ७२ करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको छ । निर्माण सम्पन्न हुन र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाका लागि एक अर्ब ३० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटमा कृषि र पशु विकास, शिक्षा विकास, मर्मतसम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली तथा विपत् व्यवस्थापनलाई प्राथमकितामा राखेको बजेटमा देखिन्छ ।

भरतपुर महानगरपालिकाले विद्युतीय बस खरिद, सार्वजनिक शौचालय निर्माण, ओभरहेड ब्रिज, परियोजना बैङ्क निर्माणलगायतका कार्यक्रम अगाडि सारेको छ । मासिक सात हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने महानगरको कार्यक्रमका लागि तीन करोड रुपियाँ विनियोजन गरिएको छ ।

विराटनगर : एक अर्बले घट्यो

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा करिब एक अर्ब रुपियाँ घटाएर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको दसौँ अधिवेशनमा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट पेस गर्नुभएको हो । 

उपप्रमख कार्कीले आव २०७९-८० का लागि तीन अर्ब ६२ करोड ५५ लाख रुपियाँको बजेट नगर सभामा पेस गर्नुभएको हो । चालू आर्थिक वर्षका लागि महानगरपालिकाले चार अर्ब ६३ करोड दुई लाख रुपियाँको बजेट ल्याएको थियो । यसअघिका वर्षमा पनि चार अर्ब रुपियाँभन्दा बढीकै बजेट ल्याएको थियो ।

महानगरपालिकाको यथार्थ आयको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा योजना र कार्यक्रम कार्यान्वयनमा समस्या आएको भन्दै बजेटको आकार घटाइएको उपप्रमुख कार्कीले बताउनुभयो । चालू आर्थिक वर्ष दुई अर्ब ३२ करोड ८१ लााख रुपियाँको आय हुने संशोधित अनुमान छ । यसैगरी विराटनगरको यथार्थ आय आव २०७७-७८ दुई अर्ब १८ करोड ३४ लाख र आव २०७६-७७ मा दुई अर्ब ४८ करोड २८ लाख रुपियाँ रहेको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६१ करोड ३५ लाख ५० हजार, समपूरक कार्यक्रममा ४७ करोड २० लाख, आर्थिक विकासअन्तर्गत सहकारी, उपभोक्ता हित संरक्षण, पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, पशुपन्छी तथा भेटेरिनरी र कृषि विकासमा १३ करोड ८० लाख, सामाजिक विकास १५ करोड ९६ लाख, पूर्वाधार विकासमा एक अर्ब ७० करोड ९८ लाख १७ हजार विनियोजन गरिएको छ । 

यसैगरी वन, वातावरण तथा विपत् व्यवस्थापनका लागि तीन करोड ५५ लाख, सुशासन तथा संस्थागत विकास चार करोड ३५ लाख विनियोजन गरिएको छ । यसैगरी समपूरक विशेष ससर्त ऋण तथा सङ्घसंस्थाको कार्यक्रमको कुल खर्च एक अर्ब २६ लाख रुपियाँ अनुमान गरिएको छ । 

वीरगञ्ज: ३ अर्बको बजेट

वीरगञ्ज महानगरपालिकाको ११औँ अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले आव २०७९-८० का लागि तीन अर्ब ३३ करोड ६३ लाख रुपियाँको बजेट पेस गर्नुभएको छ ।  बजेटमा चालू खर्चतर्फ दुई अर्ब छ करोड ९८ लाख र पुँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख रुपियाँ विनियोजन गरिएको छ ।

यसैगरी खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक आय तथा राजस्वबाट ९५ करोड रुपियाँ तथा सङ्घीय सरकारबाट (अनुदान, राजस्व बाँडफाँट) एक अर्ब ७० करोड ६२ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट अनुदान र राजस्व बाँडफाँटबाट सात करोड ९७ लाख रुपियाँ प्राप्त हुने अनुमान छ । 

यसैगरी एसियाली विकास बैङ्कद्वारा सञ्चालित आरयूडीपी परियोजनाको १२ करोड ६१ लाख, सडक बोर्डबाट दुई करोड पाउने अनुमान गरिएको छ । बाँकी रकम महानगरपालिकाको मौज्दात रहेको नगदबाट खर्च गरिने उल्लेख छ ।

(नगेन्द्र सापकोटा–काठमाडौँ, रमेश पौडेल–पोखरा, लक्ष्मी सापकोटा–काठमाडौँ, शालिग्राम नेपाल–चितवन, नवराज कट्टेल–विराटनगर र दीपक गौतम–वीरगञ्ज)