• ५ भदौ २०८२, बिहिबार

झलकमानको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न माग

blog

लोकगायक झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ अनुरोध पत्र बुझाउँदै पोखरा–१६ का संस्कृतिकर्मीहरू । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, भदौ ५ गते । चर्चित लोकगायक झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारसँग माग गरिएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भेटेर पोखरा महानगरपालिका १६ का संस्कृतिकर्मीहरूले यस्तो अनुरोध गरेका हुन् । 

कास्कीको पोखरा–१६, बाटुलेचौरमा वि.सं १९९२ सालमा जन्मिएर नेपाली लोकगीत उल्लेख्य योगदान गर्ने गन्धर्वको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको ध्यानाकर्षण गराइएको संस्कृतिकर्मी रामबहादुर बानियाँले बताउनुभयो । 

टिकट प्रकाशनका लागि अनुरोध गरिएको टोलीले मन्त्री गुरुङलाई हस्तान्तरण गरेको थियो । जवाफमा मन्त्री गुरुङले गन्धर्वको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको तस्बिर रहेको टिकट प्रकाशन गर्न मन्त्रालय सकारात्मक छ । चाँडै यसको प्रक्रिया सुरु हुन्छ ।”

गायक गन्धर्वको वि.सं २०६२ मङ्सिर ६ गते निधन भएको थियो । बाल्य कालदेखि नै सारङ्गी बजाउँदै गाउँघर डुल्ने उहाँको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’, डाँफे चरी, अल्लारे नानी, राधा पियारी, खाँउ त भने, बाला जोवन लगायतका दर्जनाै चर्चित गीत छन् ।