• ४ भदौ २०८२, बुधबार

दरौँदी जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ ४ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा रहेको १० मेगावाट क्षमताको मध्य सुपर दरौँदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । 

बारपाक दरौँदी हाईड्रोपावर कम्पनीले आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीको जनसम्पर्क अधिकृत कृष्ण पन्थीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ, जनसम्पर्कक अधिकृत पन्थीले भन्नुभयो, ‘‘कम्पनीले निरन्तररुपमा काम अघि बढाएकाले पनि अब दुई महिनाभित्र काम सम्पन्न गरेर विद्युत्  उत्पादन सुरु हुन्छ ।’’

अजिरकोट गाउँपालिका–१ धन्सिराको फेदीमा बाँध बाधिएको छ भने बाँधस्थलबाट ३.८ किलोमिटर तल राङरुङ पावरहाउस निर्माण गरिएको विद्युत् उत्पादन कम्पनीले जनाएको छ । 

पावरहाउस निर्माण सम्पन्न भइसकेकाले पावरहाउसमा मेसिन, उपकरणहरु जोडेर स्वीचयार्ड पनि तयार भइसकेको छ । सस्टयाङ र पेनस्टक लाइनको दुई सय मिटरको काम अबको केही दिनमा सुरु हुने आयोजनाका भोजराज भट्टराईले बताउनुभयो । 

राङरुङको पावरहाउसमा उत्पादन भएको विद्युत् भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालको शबस्टेसनस्थित केन्द्रीय ग्रीडमा ल्याएर जोडिने जनसम्पर्क अधिकृत पन्थीको भनाइ छ । 

आयोजना निर्माण सम्पन्न गर्नका लागि १८ किलोमिटरमध्ये १२ किलोमिटर ट्रान्समिसन लाइन तान्ने काम सम्पन्न भइसकेको र जम्मा ६ किलोमिटर बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । 

२०७८ सालमा कुल एक अर्ब ६० करोड रुपियाँ लागतमा सुरु भएको आयोजनाको काम झण्डै ४ बर्षमा सम्पन्न हुने बताईएको छ । आयोजना निर्माणको लागि प्राइम कमर्सियल बैंकको ७० प्रतिशत र कम्पनी सञ्चालक डाक्टर सन्दिप खड्काको ३० प्रतिशत लगानी आयोजना निर्माण गरिएको सञ्चालक खड्काले बताउनुभयो ।