खोटाङ, भदौ ४ गते । दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताउनुभयो ।
“म कार्यालयको सूचना अधिकारी हुँ तर म आफैलाई सूचना प्राप्त हुँदैन । अन्य साथीहरूको पनि यही गुनसो छ”, उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिवोल आचार्यले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा समाचार लेख्दा समेत पत्रकारहरुविरुद्ध विज्ञप्ति जारी हुने गरेको कटु यथार्थ सुनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाको हक मौलिक हक भएकाले प्रत्येक कार्यालयले पत्रकार तथा आम नागरिकले चाहेको समयमा सूचना उपलब्ध गराउन आनाकानी गर्न नहुनेमा जोड दिनुभयो । रासस