मोरङ समाचारदाता
विराटनगर, भदौ ४ गते । पूर्वराष्ट्रपति तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाली जनताको सामाजिक न्याय, वर्गीय हितका लागि काम गर्न राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । १० वर्षपछि नेकपा (एमाले) मोरङको जिल्ला पार्टी कार्यालयमा पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टी कार्यालयमा भेला भएका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्र बलियो नभए मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डतामा असर पर्न सक्ने सक्छ । त्यसैले मुलुकमा रहेको अथाह प्रकृति स्रोतसाधानलाई राष्ट्रनिर्माणमा लगानी गरेर समृद्ध राष्ट्र र सुखी नेपाली बनाउन सबै इमानदार भएर लाग्नु पर्छ ।”
नेकपा (एमाले) को मार्गदर्शन सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादले पनि आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रकै नीति लिएको प्रस्ट पार्दै अहिले पार्टीले पनि सोही अनुसार काम गरिरहेको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले विगतमा राष्ट्रिय जिम्मेवारीका कारण आफू पार्टी कार्यालयमा आउन नपाएको स्पष्ट पार्दै भन्नुभयो, “राष्ट्रपतिको जिम्मेवारी सकिएपछि मैले पनि पार्टी सदस्यता नवीकरण गरेकी छु र पार्टीको कुनै जिम्मेवारीमा नभए पनि अहिले म एमालेमै सव्रिmय छु ।”
उहाँले ४५ वर्षअघि आफूले लिएको एमालेको पार्टी सदस्यता कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै आफू पुनः एमलेमं सव्रिmय भएको बताउनुभयो ।
विराटनगरस्थित एमालेको पार्टी कार्यालयमा पुगेर पूर्वराष्ट्रपति भण्डारीले आफूले ४५ वर्षअघि यही पार्टी कार्यालयबाट पार्टी सदस्यता लिएको र शपथ पनि विराटनगरमै खाएको स्मरण गर्नुभयो ।”
उहाँलाई पार्टी कार्यालयमा एमाले केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राईसहितका नेता तथा कार्यकर्ताले स्वागत गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टी कार्यालयपरिसरमा रहेको मदन–आश्रितको सालिकमा माल्यार्पण गर्नुभएको थियो । सोमबार विराटनगर आउनुभएकी भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित एमालेका मन्त्री तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । पूर्वराष्ट्रपति भण्डारी मङ्गलबार काठमाडौँ फर्किनुभएको छ ।