शारदा समाचारदाता
शारदा (सल्यान), भदौ ४ गते । महिलाले विभिन्न कारणले अझै पनि निजी क्लिनिक, मेडिकल पसल वा घरमै औषधी सेवन गरेर गर्भपतन गराउने गरेको पाइन्छ । लाज र गोपनीयताको चाहना तथा विवाहपूर्व वा सामाजिक परिस्थितिबाट उत्पन्न गर्भलाई लुकाउन हतारमा असुरक्षित वा गैरसूचीकृत बाटो रोज्ने गरेको जानकार बताउँछन् ।
सुरक्षित गर्भपतन सेवा कानुनले मान्यता दिए पनि सेवाग्राही महिलालाई सेवा कुन स्वास्थ्य संस्थामा उपलब्ध छ र कुन समयावधिमा सुरक्षित गर्भपतन गर्न सकिन्छ भन्नेबारे जानकारी नभएका कारण पनि यस्तो समस्या देखिएको स्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सेतु शाहीको भनाइ छ । उहाँले भन्नुभयो, “सूचीकृत नभएका निजी अस्पताल तथा मेडिकलबाट सेवा लिँदा हुन सक्ने सम्भावित जटिलतालाई न्यूनीकरण गर्नका लागि सम्बन्धित अस्पताल तथा मेडिकलले सूचीकृत संस्थामा पठाउनु पर्छ । यसमा स्थानीय तहले पहल गरी अगुवा भूमिका निर्वाह गर्न सके भने असुरक्षित गर्भपतनबाट हुन सक्ने जटिलता तथा मृत्यु न्यूनीकरण गर्न सकिन्छ ।” उहाँका अनुसार जिल्लामा १२ हप्तासम्मको गर्भपतन गर्नका लागि मात्रै स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । त्योभन्दा माथिको गर्भपतनका लागि जिल्लाबाहिर नै जानुपर्ने बाध्यता छ ।
चिकित्सकका अनुसार असुरक्षित गर्भपतन गराउँदा तत्कालको असर गर्भपतन पूर्ण रूपमा नभई बढी रगत बग्ने, पाठेघरमा सङ्क्रमण हुने, पाठेघरमा चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउन सक्ने, महिलाको मृत्युसमेत हुन सक्ने तथा पछिसम्म हुन सक्ने समस्यामा तल्लो पेट दुखिरहने, बाँझोपन हुने र पाठेघर नै फाल्नुपर्ने अवस्था आउने हुन्छ । जथाभाबी गर्भपतन गर्नाले महिलाको ज्यानैसमेत जान सक्ने हुनाले असुरक्षित गर्भपतन गराउन नहुने स्वास्थ्यकर्मी बताउँछन् । सल्यानमा ३११ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार २० वर्षमुनिका ११ महिला र २० वर्षमाथिका तीन सय जना महिलाले सुरक्षित गर्भपतन गराएका हुन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला अस्पतालसहित अनुमति प्राप्त नौ स्वास्थ्य संस्थाबाट औषधी तथा साधारण उपकरणका माध्यमबाट महिलाले १२ हप्तासम्मको गर्भपतन गराएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । गर्भपतनका लागि सल्यान अस्पताल र अन्य सात वटा स्थानीय तहका आठ स्वास्थ्य संस्था सूचीकृत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सेतु शाहीका अनुसार सूचीकृत स्वास्थ्य संस्था वनगाढ कुपिन्डे नगरपालिकास्थित देवस्थल स्वास्थ्य चौकीबाट सबैभन्दा बढी १०२ महिलाले गर्भपतन गराएका छन् ।