• ४ भदौ २०८२, बुधबार

बर्सेनि कटान हुँदै उर्वर भूमि

blog

कमलामाई नगरपालिका–९, बतासेमा कमला नदीले कटान गरेको खेत ।तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ ४ गते  । सिन्धुली जिल्लामा यो वर्ष वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै किसानको खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ । कमला नदी, मरिण, चँदाहा, जिर्घा, खहरेलगायतका खोलामा आएको बाढीले किसानको खेत कटान गरेको स्थानीयले बताएका छन् । 

मरिणखोलामा आएको बाढीले कमलामाई नगरपालिका–१ मा करिब २५० बिघा उर्वर जमिन कटान गरेको स्थानीयले बताएका छन् । मरिणखोलाको बाढीले उक्त वडाको वाइबाटारदेखि जखनीकुण्डसम्म कटान गर्दा ५२० बिघा जमिन कटान भएको वडाध्यक्ष नरेश गोलेले जानकारी दिनुभयो । उहाँले कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा वडा कार्यालयकै तर्फबाट उक्त क्षेत्रमा भएको कटान र विस्थापनलाई रोक्न तत्काल संरक्षणको व्यवस्था गर्न लिखित रूपमा माग गरेको गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मरिणको कटानका कारण उक्त ठाउँमा दर्जनौँ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । समस्या लिएर स्थानीयसहित जिल्ला प्रशासन कार्यालय सिन्धुली र कमलामाई नगरपालिकामा प्रतिनिधिमण्डल गएर ध्यानाकर्षण गराएका छौँ ।”

उक्त क्षेत्रमा भएको नदी कटान नियन्त्रणका लागि तटबन्ध गर्न वडाको बजेटले नभ्याउने भएकाले नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई गुहार्नु परेको उहाँको भनाइ छ । त्यस्तै दुधौली नगरपालिका–१ स्थित विचित्राखोलामा आएको बाढीले १० घर जोखिममा परेका छन् । उक्त खोलामा आएको बाढीबाट १० घर डुबानको जोखिममा परेको स्थानीय कमल अधिकारीले जानकारी दिनुभयो । स्थानीयका अनुसार बर्सेनि बढ्दै गएको वन विनाश, जथाभाबी खनिएका सडक, नदी तथा खोलाको दोहनका कारण आएको बाढीपहिरोबाट किसानको हजारौँ बिघा जमिन बगरमा परिणत बन्दै गएको छ । बढ्दै गएको चुरेको विनासले नयाँ खहरे जन्मिने गरेको र खहरेआसपासका बस्ती बाढीपहिरोबाट बढी प्रभावित बनेको कमलामाई नगरपालिका–१३ निवासी शिक्षक पूजन बख्रेलले बताउनुभयो । 

तीनपाटन गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द राउतले पनि चँदाहाखोलामा आउने बाढीको कटानबाट सिन्धुली जिल्लाको पूर्वीपहाडी क्षेत्रको मुख्य अन्नभण्डार तीनपाटन क्षेत्र मासिँदै गएको बताउनुभयो । उहाँका अनुसार उक्त खोलाको कटानबाट धान र मकै खेतीका लागि निकै उर्वर भूमिका रूपमा परिचित तीनपाटन फाँट हरेक वर्ष बगरमा परिणत बन्दै गएको छ । 

चँदाहाखोलाको कटानबाट तीनपाटन गाउँपालिका–१ र २ मा अवस्थित तीनपाटन फाँटको एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको र यो वर्ष कटानको चपेटामा परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चँदाहाखोलाले तीनपाटन क्षेत्रमा २०२२ सालदेखि कटान गर्न सुरु गरेको हो । २०४१ सालमा सेती पहिरोले हाँडीखोला थुनेपछि फुटेको ड्यामले तीनपाटन क्षेत्रमा सबैभन्दा बढी क्षति गराएको हो । उक्त ड्याम फुटेपछि बाढीसँगै बगेर आएको ढुङ्गामाटोले खोलाको सतह माथि ल्यायो र जथाभाबी कटान सुरु ग-यो ।

“चँदाहाखोला कटानको क्षतिले हरेक वर्ष निरन्तरता पाइरहेको छ,” वडाध्यक्ष राउतले भन्नुभयो, “चँदाहाखोलाको कटानकै कारण ३८ वर्षको अवधिमा सुकुमवासी बनेर अढाई सयभन्दा बढी किसान विस्थापित भएर हिँडेका छन् । खोलाले धार परिवर्तन गरी एक÷दुई वर्ष वल्लो कुनाबाट र अर्को एक÷दुई वर्ष पल्लो कुनाबाट बग्दै आएको छ ।”