• ४ भदौ २०८२, बुधबार

वर्षौसम्म बनेन नेपाल भारत जोडिने पुल

blog

नेपाल भारत सीमा नाकासँग जोडिने पुल वर्षौदेखि निर्माण नभएपछि आवतजावतमा समस्या भोग्दै सर्वसाधारण । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), भदौ ४ गते ।
नेपाल भारत सीमा नाकासँग जोडिने पुल वर्षौदेखि निर्माण हुन नसक्दा सर्वसाधारणले आवतजावत गर्न सास्ती ब्यहोर्नु परेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका बेल्ही भंसार कुनौलिसँग जोडिएको पुल बन्न नसक्दा नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारणलाई कठिनाई भएको हो ।

बाँसको पुल बनाएर वर्षौदेखि सर्वसाधारण आवतजावत गर्दै आए पनि १ दशकअघि आएको बाढीले त्यो पुल पनि बगाएपछि त्यसयता सर्वसाधारणले धुलो, हिलो र पानीबाटै आवतजावत गर्नुपर्ने बाध्यता रहेको राजविराज ७ कि सुनिता साहले बताउनुभयो ।

जिल्लासँग जोडिएको कुनौली बजार जिल्लावासीको किनमेल गर्ने मुख्य बजार भएकोले दिनहुुँ यहाँबाट करिब ५० हजार सर्वसाधारणले आवतजावत गर्दै आए पनि पुल निर्माणका लागि कुनै पक्षले चाँसो नदेखाएपछि उक्त बाटोबाट हिँड्डुल गर्ने सर्वसाधारणले सास्ती ब्यहोर्न बाध्यता रहेको उहाँले बताउनुभयो ।

कुनौली बजारबाट उपभोक्ताले सस्तो मूल्यमा किराना सामान, धानबाली, गहुँको बिउ, मलखाद्यलगायत सामग्री किनमेल गर्दै आएको स्थानीय देवनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो बाटो हिँड्नैपर्ने बाध्यता छ । पानी र हिलोको महिनामा जुत्ता, चप्पल हातमा बोकेर हिँड्दै आएका छौँ ।’’

राजविराज नगरपालिका–१ चनौराकी अनिता कुमारी यादवले हामी विपन्न परिवार सस्तो सामानका लागि भारती बजारको भरपर्ने बाध्यता एकातिर छ भने पुलको अभावमा बाटो काट्दा सर्वसाधारणले अनेकौं जोखिम उठाउनुपर्ने बाध्यता छ ।

उहाँले भन्नुभयो, ‘‘यात्रा जोखिम भए पनि हामी विपन्न उपभोक्ताले आवतजावत गर्ने पर्ने बाध्यता छ । नेपाल भारतको रोटी बेटीको सम्बन्ध भएकोले विवाह, व्रतबन्ध, उपचार गर्न समेत यहीँ बाटोबाट कुनौली हुँदै भारतबाट जिल्ला आउने र भारत तर्फ सर्वसाधारण जाने गरेका छन् ।