• ४ भदौ २०८२, बुधबार

प्रतापपुर गाउँपालिकाद्वारा पूर्वाधार विकास उच्च प्राथमिकतामा

blog

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवन । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी 
पश्चिम नवलपरासी, भदौ ४ गते  ।
पश्चिम  नवलपरासीको प्रतापपुर गाउँपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विकास निर्माणसहित विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

गाउँपालिकाले यस आर्थिक वर्षमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवनसहित वडा नं १, ५ र ८ को प्रशासनिक भवनहरू निर्माण सम्पन्न भएका छन्। स्वास्थ्य क्षेत्रमा पनि ठुलो लगानी गरिएको छ, जसअन्तर्गत १५ शय्याको अस्पताल भवन, चारवटा नयाँ स्वास्थ्य चौकी भवन, र आयुर्वेद औषधालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

भौतिक पूर्वाधारतर्फ, सडक निर्माण र मर्मतमा पनि उल्लेखनीय काम भएको छ । यस अवधिमा २१.३३३ किलोमिटर कालोपत्रे सडक, १५.४७१ किलोमिटर ढल, र २७.७०३ किलोमिटर सडकमा पीसीसी गरिएको छ । यस्तै, ६९.४३२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ११.२८१ किलोमिटर सडक मर्मत गरिएको छ ।

शिक्षामा सुधारका कदम, शिक्षा क्षेत्रमा पनि गाउँपालिकाले रचनात्मक कदमहरू चालेको छ । प्रतापपुरको स्थानीय पाठ्यपुस्तक निर्माण र कार्यान्वयनमा ल्याइएको छ । अध्यक्ष शैक्षिक वेरोजगार सम्बोधन कार्यक्रम, प्रधानाध्यापक र गाउँपालिकाबिच कार्यसम्पादन सम्झौता र नियमित अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएका छन् । गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गर्नुका साथै उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्ने परम्परा पनि सुरु गरिएको छ ।

स्वास्थ्य सेवा विस्तार, गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउन विशेष जोड दिएको छ । पाँचवटा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नति गरिएको छ भने ठुलो खैरटवा र प्रतापपुर स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसूति सेवा र ल्याब सञ्चालन गरिएको छ । साथै दुईवटा एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ ।

कृषि र पशुपालनमा सहयोग, कृषि प्रधान क्षेत्र भएकाले गाउँपालिकाले कृषि र पशुपालनलाई पनि विशेष महत्त्व दिएको छ । यस वर्ष सबै वडामा कृषि विद्युतीकरणका लागि तार र पोल जडान गरिनुका साथै सिँचाइका लागि बोरिङहरू जडान गरिएका छन् ।  किसानहरूलाई उन्नत जातका बीउ, कृषि यन्त्र, र माटो सुधारका लागि धैँचाको बीउ वितरण गरिएको छ ।

पशुपालनतर्फ प्राविधिक परामर्श सेवा, घाँसको बीउ, औषधी वितरण र पशु स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको छ । कृत्रिम गर्भाधानको सहयोगबापत रकम समेत वितरण गरिएको छ ।