चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङमा यसवर्ष करिव ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो ।
हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठ महिनाको दोस्रो सातादेखि नै रोपाइँ सुरु गर्ने गरिन्छ । जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा सबै ठाउँमा रोपाइँ नभएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन मसान्तसम्ममा कुल ७९.७८ प्रतिशत मात्र रोपाइँ भएको छ । धान खेती लगाउने समय सकिएकाले जिल्लामा यस वर्षको रोपाइँ पनि करिव सकिएको हो ।
भदौ महिनायता रोपिएको धानमा फल नलाग्ने हुँदा जिल्लाका किसानले साउनभर मात्र रोपाइँ गर्ने गर्दछन् । भदौयता पनि केही किसानले रोपाइँ गर्नसक्ने कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार गत वर्ष साउन मसान्तसम्ममा ९८.५० प्रतिशत रोपाइँ भएको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार समयमा वर्षा भई दिएको भए साउनको तेस्रो सातासम्ममा नै जिल्लामा रोपाइँ सम्पन्न हुने थियो । अधिकांश धान खेती हुने क्षेत्र आकाशे पानीको भर पर्नुपर्ने ठाउँ भएकाले यस वर्ष पर्याप्त वर्षा नभएकै कारण समयमा रोपाइँ हुन नसकेको कृषि प्रसार अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइको कुलो सञ्चालन हुने क्षेत्रमा मात्र समयमा रोपाइँ भएको छ ।
जिल्लाको कुल पाँच हजार ६६६.३२ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिएको छ । वर्षा नभएका कारण यस वर्ष धान खेती हुने करिव एक हजार १४५.७३ हेक्टर क्षेत्रफल बराबर जमिन बाँझिएको अर्थात रोपाइँ हुन नसकेको हो । यता रोपाइँ नभएको जमिन खेतमा दाल लगायतका बाली लगाएको स्थानीय किसानले बताएका छन् । जमिन बाँझो राख्नुभन्दा फल लागे वा नफले पनि दाल खेती लगाएको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान भवानी रिजालले बताउनुभयो ।
रोपाइँ नहुँदा भात खाने समस्याभन्दा पनि घरमा पालिएका पशुचौपायालाई खुवाउने पराल नहुने भएको स्थानीय किसान बताउँछन् । धान खेती लगाउन नपाएपछि कतिपय किसानलाई भात खाने चामलको व्यवस्था मिलाउनलाई नै कठिनाइ हुने स्थानीय बताउँछन् । रोपाइँ गरेका किसानले बेलगुटी, भँगेरे, अट्टे, मनिपुरेजस्ता पुरानो रैथाने जातको धान रोपेका छन् । केही किसानले सुख्खा–१, खुमल–४ जस्ता उन्नत जातको धान खेतीसमेत लगाएका बताइएको छ ।