• ४ भदौ २०८२, बुधबार

विद्यार्थीसँग कवि लम्साल

blog

नारायणगढ समाचारदाता

नारायणगढ, भदौ ४ गते । कवि तथा डा. नवराज लम्सालले विद्यार्थीलाई सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा थोरै समय दिन अनुरोध गर्नुभएको  छ ।

गैँडाकोट इङ्ग्लिस स्कुलका विद्यार्थीका माझमा आइतबार बोल्दै लम्सालले डिजिटल प्लेटफर्मलाई शिक्षाका लागि  उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । “डिजिटल मिडिया नचलाउनु त भन्दिनँ । निश्चित समयभित्र आफूलाई  कडा अनुशासनमा राखेर हेर्नू,” उहाँले थप्नुभयो, “डिजिटल मिडियालाई उपयोग गर्ने हो । पढ्नका लागि आवश्यक स्रोत सामग्रीका रूपमा प्रयोग गर्न सके यो सुन्दर हो ।”

विद्यार्थीलाई जीवनोपयोगी कुरा सिकाउँदै कवि डा. लम्सालले  बुवाआमालाई भान्सा साथै घरायसी काममा सघाउन, आफ्ना सरसामानको सदुपयोग आफैँ गर्न आग्रह गर्नुभयो । कवि लम्साललाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले राष्ट्रिय व्यक्तित्व लम्साल भनी प्रशंसा गर्नुभयो । सो कार्यक्रममा विद्यार्थीहरू अभिश्री कँडेल र सुखद सिग्देलले लम्सालको ‘धरा’ महाकाव्यबाट केही श्लोक वाचन गर्नुभएको थियो । वाचकद्वयलाई लम्सालकै हातबाट ‘धरा’ र ‘कर्ण’ महाकाव्य उपहार दिइएको थियो ।