अहिले तिज आउनु एक महिनाअघिदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा तिज मनाउँदै गरेका तस्बिर देख्न पाइन्छ । यसरी धेरैै दिनअघिदेखि तिज मनाउने चलन केही वर्षयता निकै बढ्दो छ !
यसलाई पनि दुई किसिमले सोच्नुपर्ने हुन्छ । खाली तडकभडक देखाउनका लागि आफ्नो खर्चलाई धान्नै नसकिने हिसाबले गर्नु चाहिँ साँच्चिकै नराम्रो संस्कार भन्नु पर्छ तर आफ्नो गच्छेले भ्याउँछ भने लगाउन चाहनाले जेजे लगाउन मन लाग्छ सोही लगाउन पाउनु र आफ्नो मुताबिक रमाउन पाउनु सबको नैसर्गिक अधिकार र इच्छाको कुरा हो । यसमा हामीले चाहिने नचाहिने टिप्पणी गर्नु आवश्यक छैन, र नकारात्मक हिसाबले सोच्नु पनि हुन्न । माया र सद्भाव साटासाट गर्नु, रमाइलो गर्नु राम्रै कुरा हो । घृणा गर्नु लडाइँ गर्नु पो नराम्रो कुरा भयो ।
खर्च धान्ने हैसियत भएका र सौख पनि भएकाहरूले भने खर्च पनि गर्नु पर्छ ! किनभने त्यो गहना पनि यतिकै त बन्दैन ? पसलका साहुले पनि बनाउने होइन ? त्यहाँ कति जना मजदुर भाइबहिनीका पसिना बगेको हुन्छ र रेस्टुरेन्ट, होटेल, क्याफे, पार्टी प्यालेस व्यवसायी आदिका पनि परिवार सोही आम्दानीबाट धान्नुपर्ने र चलाउनु पर्ने हुन्छ । कपडा पसलेको रोजीरोटी मात्रै चल्ने होइन ? सिलाइ गर्ने मास्टरहरूको रोजगारी पनि त चल्छ । घरपरिवारको पेट पाल्ने आम्दानी त्यही सिपले चलाउनुपर्ने हुन्छ ! बरु चुरा, पोते, टीका कपडा जस्ता कुरा सबै विदेशबाट आयात हुने भएको कारणले त्यस्ता समाग्री बनाउने उद्योग नेपालले नै खोले झन् राम्रो ! देशका जनताले रोजगारी पनि पाउने, देशको पैसा देशमै पनि रहने ! त्यस कारण सबैलाई एउटै घानमा राखेर सोच्नुभन्दा गच्छे अनुसार सौख हुनेले खर्च गर्नु पर्छ ।
‘सादा जीवन उच्च विचार’ नभई उच्चै जीवन उच्चै सोच मन पर्छ मलाई त । किनभने सादा जीवनभन्दै अकुत धन थुपारेर ढुकुटीमा कुहाएर राख्नुको औचित्य के ? सादा जीवन उच्च विचार भन्दै धन भने अकुत कमाउने खर्च भने सुको नगर्ने ? कि त अत्यावश्यक मानव सेवामा, समाज सेवामा, वा विश्व सेवा खर्च गर्ने, वातावरण जोगाउने, पर्यावरण बचाउने यस्तै यस्तै आदिइत्यादीमा खर्च गरे तै तै यो पनि सही सदुपयोग हो । नत्र बैङ्क वा ढुकुटीमा कुहाएर राखे अर्थको अर्थ के ? यसमा पनि दुई कुरा अवश्य छ फेरि । भन्नेको हकमा आफूलाई कट्टर बामपन्थी भन्ने अनि ‘लवाइखुवाइमा राजषि ठाँटबाँट गर्ने कम्युनिस्ट चरित्र होइन’ भनेर पनि तिनले नै नारा लगाउने ? अनि लगाउने खानेको मामिलामा राजषि ठाँटबाँटलाई समेत मात दिने हिसाबले उनीहरू नै झन अग्रपङ्क्तिमा रहेर राजषि ठाँटबाँट गर्ने दोहोरो चरित्र र मानसिकताहरूसँग भने पक्कै विमति छ मेरो । कि त सिद्धान्त नअपनाउनु ? यदि सिद्धान्तै अपनाउने हो भने स्वयंले लागु गरेर उदाहरण पेस गर्नु ? होइन भने फोस्रो आडम्बरको खोल ओढेर आफ्ना लागि नभई अरूका लागि नैतिक शिक्षा दिनुको अर्थ र नैतिकता नै के ?
अनि तिजको नाममा भड्किलो हिसाबले धूमपान तथा मदिरापान गर्नु भने बिल्कुलै खराब कुरा हो फेरि । नत्र त अर्थतन्त्र त जति चलायमान भयो उति जाती हुन्छ भन्ने लाग्छ मलाई चाहिँ ! तर जुन दिन तिज हो त्यही दिन मात्रै मनाउने चलन गर्दा चाडबाडको महत्त्व र महिमा दुवै बढ्छ । महिनौँ पहिलेदेखि गर्दा चाडपर्वको महत्त्व र महिमा दुवै बढ्नुको साटो झन् झन् घट्छ र थप विकृति भित्र्याउने काम मात्रै पनि हुन सक्ने सम्भावना रहन्छ !
पहिला हाम्रो आमा पुस्ता र हजुरआमा पुस्तालाई समानता के हो ? भन्नेबारे ज्ञानै थिएन । सानैमा बिहेदान गरेर पठाउने चलन थियो । बिहेपछि घरकाले वर्षभरि कज्याएर तिजमा मात्रै माइत पठाउने, वर्षमा एक जोर नयाँ कपडा फेर्न पाउने अनि माइतीमा दरको नाममा मिठा मिठा परिकार खान पाइने थियो र पो चेलीबेटीलाई तिजको पर्खाइ
हुन्थ्यो ! अचेल त घरमा पनि र रेस्टुरेन्टमा पनि जे खान्छु भने पनि पाइन्छ । यस अर्थमा सधैँभरि तिजै तिज छँदै छ । अनि तिजकै नाम बिकाउनु पर्ने किन ? यत्तिकै पनि पार्टी गरेर आनन्द लिन सकिन्छ भने तिजलाई बदनाम गराउनु किन ? आफ्नो संस्कार र संस्कृतिको प्रवर्धन गरौँ ! सबै धर्म र संस्कृतिको समान सम्मान गरौँ ! तर धर्म र संस्कृतिको नाममा पुरातन परम्परार अन्धविश्वास र सङ्कीर्ण रूढि आदिलाई भने आजैदेखि त्यागौँ !
खासमा हामी थकाली समुदाय तिज मान्ने समुदायका होइनौँ ! अनि नछुने बार्ने समुदायका पनि होइनौँ ! जुनसुकै शुभकार्यमा पेटपूजा गरेर अर्थात् सगुन लिएर मात्रै थालनी गर्ने समुदायका हौँ हामी ! र, जुनसुकै शुभ कार्यव्रmममा जाँडरक्सी अनि मासु र रोटीका परिकार अनिवार्य हुन्छ हाम्रो समुदायमा ! तर अचेल हाम्रो समुदायका महिलाहरूले पनि तिज मान्ने र दर खाने आदि गर्न थालेका छन् र नछुने पनि बार्ने गर्छन् ! मेरो विचारमा सबैका राम्रो संस्कार र संस्कृतिको जगेर्ना गर्नु र सबै सबै समुदायका चाडपर्व संस्कार र संस्कृति आदिप्रति सम्मान गर्नु सद्भाव राख्नु नराम्रो कुरा भने पक्कै होइन ! यस्तै सुन्दर पक्षहरू सबै मिलेर नै राष्ट्र बन्ने हो ! तर फेरि धर्म र संस्कृतिको नाममा विकृति र कुसंस्कार त्याग्नुको बदलामा झन् झन् थप भित्र्याउनु भने बुद्धिमानी कुरा पक्कै होइन ?
त्यसो त म मन्दिर, गुम्बा, मस्जिद कतै पनि धाउदिनँ । पर्यटकीय हिसाबले जाने त्यो बेग्लै कुरा भयो । खासमा दैनिक पूजापाठ पनि गर्दिनँ । व्रत पनि कहिल्यै बस्दिनँ । तिजमा पनि व्रत लिदिनँ यसको अर्थ यो पनि होइन कि मैले मेरो श्रीमान्को सुस्वास्थ वा दीर्घायुको कामना नै गर्दिनँ ! मैले पनि जरुर गर्छु तर व्रत भने बस्दिनँ । बस्न चाहनुहुनेप्रति मेरो विमति छैन, बरू सदासयता पूर्ण रूपमा छ ! अनि मेरो जन्म तिथिको हिसाबले ऋषि पञ्चमी हो र, पनि ऋषि पञ्चमीको व्रत पनि बस्ने गर्दिनँ ! मेरो हार्दिकता यति मात्रै हो कि सबै खाले कुप्रथा चाहे जुनसुकै समुदायको किन नहोस् ? सबैले त्यागौँ र स्वच्छ समाजको निर्माणमा लागौँ । र, आफ्नो मन घरपरिवार, समाज र वातावरण सफा राखौँ ।
यो त्यो, यसको त्यसको, यस्तो उस्तो भनेर नकारात्मक टीकाटिप्पणी गर्नुभन्दा यही सोचका साथ हरितालिका तिज मनाउँदा आफ्नो मनको रहर पूरा पनि हुन्छ । चाड, पर्व, संस्कार र संस्कृतिको जगेर्ना पनि हुन्छ भन्ने लाग्छ मलाई ! मधुपर्क