फडिन्द्र अधिकारी
लेखनाथ, भदौ ३ गते । गण्डकीमा प्रदेश संरचना सुरु भएको आठ वर्षपछि प्रदेश सभाको नयाँ भवन निर्माण प्रक्रिया अघि बढेको छ । नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनलाई जीर्णोद्धार गरी अहिले प्रदेश सभाको अस्थायी कार्यालय बनाइएको छ ।
पोखरा महानगरपालिका–३, नदीपुरमा अहिलेको अस्थायी कार्यालयकै पश्चिमतर्फ २५ करोड ३७ लाख ८२ हजार ८६१ रुपियाँ लागतमा सुविधासम्पन्न प्रदेश सभा भवन बन्दै छ । सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदनबमोजिम भवन निर्माण हुँदै छ । श्रेष्ठ एन्ड सन्स/इस्टवेस्ट जेभी काठमाडौँसँग २०८१ माघ १८ गते भवन निर्माणको सम्झौता भएकोमा अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने काम सकिएको छ ।
भवनको लागत ४४ करोड ९९ लाख ६० हजार ३७६ रुपियाँ रहेकोमा ३२.४१ प्रतिशत घटेर श्रेष्ठ एन्ड सन्सले ठेक्का पाएको हो । गत वर्षको माघमा ठेक्का लागे पनि ठेक्का प्रक्रिया र नक्सापासका कारण ढिलाइ भएको गण्डकी सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले बताउनुभयो । उहाँले सरकारले समयमै भवन निर्माण गर्न आर्थिक अभाव र अन्य व्यवधान हुन नदिने उल्लेख गर्नुभयो ।
डा. गुरुङले भन्नुभयो, “भोगाधिकार मात्र पाएको जग्गा भएकाले नक्सापास, ठेक्का प्रक्रियामा समय लाग्यो । अब समयमै भवन बनाउन स्रोतको अभाव हुन दिँदैनौँ ।” भवनको भुइँतलामा एक हजार ८४६ वर्गमिटर, पहिलो तला एक हजार ४९६ र दोस्रो तला ७३९ वर्गमिटरका हुने छन् ।
नयाँ प्रदेश सभाको भुइँतलामा सभामुख, प्रदेश सभा सचिवालय, उपसभामुख, विषयगत समितिलगायतका कार्यालय रहने छन् । पहिलो तलामा सय जना जति अट्ने हल बनाइने छ । दोस्रो तलामा प्रदेश सभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान हुने छ । सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने सानो हलसमेत बन्ने छ । सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीका सिडिई ओमराज ढुङ्गाना प्रदेश सभा भवन समयमै सक्ने निर्माण कम्पनीले प्रतिबद्धता गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दसैँअघि भुइँ ढलान गर्ने र आउँदो माघ महिनासम्म पहिलो तला ढलान गरिसक्ने कार्ययोजना निर्माण कम्पनीको छ । यो वर्ष पनि भवनका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।”
प्रदेश सभाको यसअघि बनाइएको प्रतिवेदनमा एक अर्ब ४६ करोड लागतमा भवन बनाउने योजना थियो । प्रदेशले त्यत्रो खर्च धान्न कठिन हुने टिप्पणी भएपछि नयाँ अध्ययन प्रतिवेदन अनुसार भवन बनाउन लागिएको हो ।