• २ भदौ २०८२, सोमबार

बडिगाड आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सम्झौता

blog

बडिगाड आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सम्झौता गरिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट) भदौ २ गते ।
स्वास्थ्य बीमा बोर्डले बागलुङको बडिगाड आधारभूत अस्पतालसहित देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बिमा सेवा सम्झौता गरेको छ ।

स्वास्थ्य बिमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो । बागलुङ जिल्लामा यस अघि धौलागिरी अस्पताल, जैमिनी आधारभूत अस्पताल, गलकोट नगर अस्पताल र बुर्तिवाङ अस्पतालमा मात्रै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु रहेको थियो ।

बोर्डले पहिलो पटक सेवा बिन्दुको रूपमा सेवा दिने गरी सम्झौता गरेको हो । स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार यसलाई कार्यान्वयनमा ल्याइएको छ ।

बोर्डका अनुसार नयाँ सम्झौतासँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्रसहित जम्मा ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् । हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको सङ्ख्या ३७६ पुगेको छ । यसले बीमीतलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले बतानुभयो ।

बडिगाड आधारभूत अस्पतालमा अब डायलासिस सेवा जडान गर्ने तयारी रहेको छ । पालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।