• १ भदौ २०८२, आइतबार

डेढ वर्षमा बन्नुपर्ने हाटबजार आठ वर्षमा पनि बनेन

blog

हाटबजार व्यवस्थापनको कामको विषयमा सङ्घीय सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि र ठेकेदार पक्षबिच भएको छलफल । तस्बिरः विकास अधिकारी

विकास अधिकारी 

पश्चिम नवलपरासी, भदौ १ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा साप्ताहिक हाटबजार व्यवस्थापनको काम आठ वर्ष पूरा हुँदा समेत पूरा भएको छैन । रामग्राम–२, परासीमा रहेको हाटबजार अव्यवस्थित भएपछि २०७४ सालमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो । 

आठ करोड रुपियाँको लागतमा डेढ वर्षमा काम सक्नेगरी पप्पु श्री शक्ति जेभीले हाटबजार व्यवस्थापनको जिम्मा पाएकोमा अझै १६ प्रतिशत काम पूरा भएको छैन । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले ठेकेदारले टहरा निर्माणको काम सके पनि ब्लक बिछ्याउने, बत्ती जोड्ने, रेलिङ निर्माण गर्ने काम बाँकी रहेको जानकारी दिनुभयो । “काम सक्न पटक पटक ताकेता गरेको हो, ठेकेदारको आन्तरिक समस्याले काम हुन सकेको थिएन, अब अन्तिम चेतावनी दिएपछि एक हप्ताभित्र काम सुरु गर्ने प्रतिवद्धता जनाएको छ” थापाले भन्नुभयो । 

रामग्राम नगर क्षेत्र अन्तर्गतका सडक तथा भौतिक संरचनाहरूको निर्माण गर्नेगरी सङ्घीय सरकारले ५० करोड बजेट विनियोजन गरेको थियो । सोही रकम अन्तर्गत सदरमुकाममा हप्तामा दुई दिन लाग्दै आएको हाटबजार व्यवस्थापनका लागि ठेक्का सम्झौता भएको थियो । बाँकी रकम सडक निर्माणमा खर्चिएको थियो । सडकका काम पूरा भइसकेको छ ।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले समयमै काम पूरा नहुँदा हाटबजार व्यवस्थापनमा समस्या भएको बताउनुभयो । “स्थानीय सरकार सहजीकरणका लागि तयार छ, तर ठेकेदारले पटक पटक काम पूरा गर्छु भनेर काम नगर्दा अपसज हामीले खेप्नुपरेको छ” यादवले गुनासो गर्नुभयो । 

ठेकेदार सँग भएको छलफलका क्रममा स्थानीय तहका जनप्रतिनिधिको दबाबपछि सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख थापाले १५ दिन भित्र काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रिया सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवलपरासीमा सबैभन्दा ठुलो साप्ताहिक हाटबजार परासीमा लाग्दैआएको छ ।