शिवा तामाङ
काठमाडौँ, भदौ १ गते । तामाङ महिला फुटबल खेलाडीहरूलाई जनही पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ । राईगाउँ युवा क्लब मकवानपुर र तामाङ डाजाङद्वारा राजधानीमा आयोजित सम्मान कार्यक्रममा नेपाली फुटबलका १८ जना महिला खेलाडीलाई सम्मान गरिएको हो ।
सो अवसरमा महिला फुटबल खेलाडीहरू पेमा डोल्मा लामा, अनु लामा, रेणुका नगरकोटे (लामा), रश्मिकुमारी घिसिङ, मञ्जली योञ्जन, निशा थोकर, अञ्जना राणामगर (तामाङ), लाई सम्मान गरिएको हो ।
त्यसैगरी खेलाडीहरू अञ्जली वाइबा, सपना लामा, सजनी थोकर, रजनी थोकर, सुजता तामाङ, यशोदा थोकर, निकिता थोकर, रबिना गोले, अन्जु लोप्चन, सुनिता भोलन र सुष्मा तामाङलाई सम्मान गरिएको हो ।
तामाङ डाजाङका अध्यक्ष फूलमान बम्जनले राईगाउँ युवा क्लब र डाजाङसँगको सहकार्यमा नेपाली फुटबल क्षेत्रमा आफ्नो उर्जावान समय दिएर विभिन्न किर्तिमानहरू कायम गर्न सफल महिला खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव लागेको बताउनुभयो ।
उहाँले महिला फुटबल खेलाडीहरूको हौसला बढाउन सहयोग गर्नुहुने सबै सहयोगी, शुभचिन्तक, शुभेच्छुकप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । राईगाउँ युवा क्लबका अध्यक्ष छविलाल बम्जनले विशेष अनुशासन, मिहिनेतसाथ नेपाली खेल क्षेत्रमा आफ्नो स्थान बनाउन महिला फुटबल खेलाडीलाई पहिलो पटक सम्मान कार्यक्रम राखेको र आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमको निरन्तरताका लागि सबैसँग सहयोगको अपेक्षा रहेको विचार व्यक्त गर्नुभयो ।