• १ भदौ २०८२, आइतबार

देशमा केही भएन भन्ने भाष्य गलत छ : मुख्यमन्त्री पाण्डे

blog

कार्यक्रमको उदघाटन गर्नुहुँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

गुणबहादुर रोका 

सुलीकोट, भदौ १ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा केही भएन भन्ने भाष्य गलत भएको बताउनुभएको छ । गोरखा जेसिजको आयोजनामा आइतबारदेखि सुरु भएको जेसिज सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले युवाहरूमा सकारात्मक सोच र स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना जागृत हुनु आवश्यक रहेको बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेले उमेरले पनि युवा, जाँगरले पनि युवा र केही गरौं भन्ने भावना भएका अनुशासित युवाहरूलाई समेटेर समाज रूपान्तरणको अभियानमा लाग्नु पर्ने स्पस्ट पार्नुभयो । देशमा भएका युवाहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग मिलेर काम गर्नाले युवाहरू विदेशिनु नपर्ने उहाँको भनाइ छ । 

देशमा केही भएन भन्ने युवाहरूमा नकारामक सोचहरू देखिन थालेका छन्, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नजिकैको पालिकाबाट सदरमुकाम आउन ५ घण्टा लाग्थ्यो, अहिले घर आँगनबाट गाडी चढेर आधा घण्टामा सदरमुकाम आउन पाइन्छ, यो विकास होइन ?” 

युवाहरूले विभिन्न क्षेत्र पहिचान गरी काम गर्दै अघि बढेमा गण्डकी प्रदेश सरकार युवाहरूको साथमा रहेको बताउनुभयो । अहिले देशमा केही भएन भन्ने भाष्य सिर्जना गरिएको छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘देशमा विद्युत्, सडक, स्वास्थ्य अवस्था जर्जर अवस्थाबाट सुधार हुँदै प्रत्येक पालिकाको वडासम्म एक चिकित्सकसहित सडक सुविधाहरू बढ्दै गएकाले परिवर्तन भएकै छ, केही तत्वहरूले नेपालमै बसेर केही हुँदैन भन्ने अफबाहमा नलाग्न युवाहरूलाई आग्रह गर्दछु ।’

‘गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकासलाई अघि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना रहेको छ’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘त्यसका लागि आर्थिक सम्बृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकार सकारात्मक इमानदारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।’

उहाँले गण्डकी प्रदेश सरकार आर्थिक सम्वृद्धिको नयाँ सम्भावना खोल्न प्रयासरत रहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टि र आक्रोश देखिएको भन्दै त्यसलाई सबै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेश सरकार युवा जगतको विकासका लागि हातेमालो गरेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “युवा जगतको तर्फबाट पनि प्रदेश सरकारले सकारात्मक सहयोग र सुझावको अपेक्षा गरिरहेको छ ।’ मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई नमुना प्रदेश बनाउन सबै क्षेत्रले पनि नयाँ बाटोहरू देखाउन अनुरोध गर्नुभयो ।