• १ भदौ २०८२, आइतबार

सरकारको प्राथमिकतामा ठूला योजना

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै एमाले सचिव योगेशकुमार भट्टराई। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १ गते। सत्तारुढ दल नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारको प्राथमिकतामा ठूला आयोजना रहेको बताउनुभएको छ। देशको विकास र समृद्धिमा परिवर्तन ल्याउनेगरी ठूला आयोजनालाई प्राथमिकता दिँदै सरकारले सोहीअनुसार लगानी केन्द्रित गर्ने योजना बनाएको भट्टराईले बताउनुभयो।

गृह जिल्ला ताप्लेजुङमा प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले ठूला आयोजनालाई प्राथमिकता दिँदै लगानी केन्द्रित गर्ने र त्यस्ता आयोजनालाई समयमै सम्पन्न गराउन पनि वर्तमान सरकार लागिपरेको बताउनुभयो। प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले ठूला आयोजनाले मात्र देशको विकासमा परिवर्तन ल्याउने र समृद्धिको ढोका खुल्ने भएकाले यसतर्फ सरकारको प्राथमिकता रहेको बताउनुभयो।

देशको विकास र समृद्धिको योजनाअनुसार नै सरकारले चालु आर्थिक वर्षका लागि नयाँ नीति कार्यक्रम ल्याएको पनि उहाँको भनाइ छ। सरकारले ल्याएको सुन्दर र प्रभावकारी नीतिसँगै लगानीमैत्री वातावरण बनेको उहाँले बताउनुभयो। विदेशी लगानीलाई निरुत्साहित गर्ने खालको यसअघिको व्यवस्थालाई संशोधन गरिएको र लगानीमैत्री सहज वातावरणले ठूला आयोजना कार्यान्वयन गर्न साथै समयमै सम्पन्न गर्न अनुकूल वातावरण बनिरहेको उहाँले बताउनुभयो।

उहाँले विकास निर्माण र सुशासनकै लागि संविधान संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो। देशका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच सत्ता सञ्चालन गर्न गठबन्धन हुनु असाधारण निर्णयजस्तै भए पनि संविधान संशोधन, देशको स्थायित्व र विकासका लागि भएकोभन्दै नेता भट्टराईले उद्देश्यअनुसार नै गठबन्धन सरकार लागिपरेको बताउनुभयो। सत्तारुढ दल संविधान संशोधन लगायतमा नेकपा (माओवादी केन्द्र) सहितका प्रतिपक्षी दलसँग सहकार्य गरेरै अघि बढ्ने उहाँले बताउनुभयो।

प्रतिक्रान्तिको नाममा मुलुकलाई द्वन्द्वतिर लैजाने कुनै प्रतिगामी तत्वले प्रयत्न गरे पनि त्यो सम्भव नरहेको र हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकोसमेत उहाँले बताउनुभयो। संविधान संशोधनकै प्रसंगमा नेता भट्टराईले राज्य पुनर्संरचनाअन्तर्गत स्थानीय तहलाई स्रोत र साधन सम्पन्न बनाउन हालको सङ्ख्यालाई घटाउने र वडाको सङ्ख्यालाई बढाउँदा उपयुक्त हुने विषयमा छलफल भइरहेको बताउनुभयो।

यस्तै हाल रहेका संवैधानिक आयोगहरुको सङ्ख्या घटाउने, उपराष्ट्रपति नै राष्ट्रिय सभाको अध्यक्ष हुने व्यवस्था गर्ने विषयबारे पनि छलफल र प्रसङ्ग उठिरहेको उहाँले सुनाउनुभयो। हालको समानुपातिक व्यवस्थालाई परिवर्तन गरी प्रत्यक्ष प्रणालीबाटै संसदमा महिलाको उपस्थिति सुनिश्चित हुनेगरी व्यवस्था गर्ने विषयमा पनि सोच अघि बढिरहेको उहाँले बताउनुभयो। प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत नै महिला निर्वाचित हुने व्यवस्थाले महिला प्रतिनित्वको सुनिश्चित हुने र कुनै पनि दललाई एकलौटी बहुमत प्राप्त गर्नमा सहयोग पुग्नसक्ने उहाँले बताउनुभयो।

नेता भट्टराईले काँग्रेस एमालेको वतर्मान गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म कायम रहने पनि दाबी गर्नुभयो। दुई दलीय सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीले २०८३ असारसम्म सरकारको नेतृत्व गर्नुहुने र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउबाले सरकारको नेतृत्व गर्नुहुने अर्थात् प्रधानमन्त्री बन्नुहुने उहाँले बताउनुभयो। उहाँले काँग्रेससँगको समझदारी अनुसार नै एमाले पार्टीले जिम्मेवार भएर राजनीतिक गतिविधि गरिरहेको बताउनुभयो।

यसैबिच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि बढाउन सुरु गरेकोमा भने सम्मानित पद धारण गरिसकेका व्यक्तिले राजनीतिमा फर्कनु उचित नहुने पार्टीको बुझाइ रहेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वराष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्किने विषय आम पार्टी प्रतिनिधिबिच बृृहत् छलफल गरेर टुङ्ग्याउने उहाँको भनाइ छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै भट्टराईले संवैधानिक समिति र अदालतको निर्णयको अवज्ञा गर्दै हस्ताक्षर अभियान चलाउनु गलत भएको बताउनुभयो। स्वच्छ र स्वतन्त्र रहेको न्यायालयमाथि दबाब सिर्जना गर्ने काम गर्नु दूर्भाग्यपूर्ण रहेको पनि उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “सहकारी लगायतमा करिब ६५ करोड रुपियाँ अपचलन गरेको मुद्दामा हाल कारागारमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले भागमा परेको बिगो बमोजिमको धरौटी बुझाएर कारागारमुक्त भई मुद्दा लड्न खोज्नु भनेको गल्ती स्वीकार्नु हो।”

यसैगरी जिल्लामा निजी लगानीबाट निर्माण गर्न सुरु भएको पाथीभरा केबलकार, माथिल्लो तमोर जलविद्युत् जस्ता ठूला आयोजनाको निर्माण कार्यमा अवरोध गर्न नहुने उहाँले बताउनुभयो। यस्ता ठूला विकास योजनाले समग्र जिल्लालाई फाइदा पुग्ने भन्दै योजना कार्यान्वयन तथा निर्माणमा जिल्लावासीले सहयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो। उहाँले मेची राजमार्ग जोड्ने हेवाखोलामा पक्की पुल निर्माण गर्ने तथा यहाँको सुकेटार विमानस्थल नियमित रुपमा सञ्चालन हुनेगरी विमानस्थलको स्तरोन्नति र स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो।