काठमाडौँ, भदौ १ गते । स्वास्थ्य पत्रकारका लागि सञ्चालन गरिएको तीनदिने ह्याप्पीनेस कोर्स शनिबार सम्पन्न भएको छ । आध्यात्मिक गुरु श्री रविशङ्करले स्थापना गरेको संस्था आर्ट अफ लिभिङ फाउण्डेशनले तयार गरेको आधारभूत तहको ध्यान (ह्याप्पीनेस कोर्स) गत बिहीबारदेखि स्वास्थ्य पत्रकारहरुका लागि उपलब्ध गराइएको थियो ।
आर्ट अफ लिभिङ नेपालका महासचिवसमेत रहेका यतिकेम डिस्ट्रिब्युटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा उक्त कोर्स उपलब्ध गराइएको थियो । रितिका लोहिया र शरद भेषवाकरले प्रशिक्षण दिनुभएको थियो ।
शरीर स्वस्थ राख्न योग र व्यायामको भूमिका रहे जस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान जरुरी रहन्छ । अहिलेको व्यस्ततापूर्ण समय र अझ सञ्चारकर्मीको दैनिक जीवन अझ व्यस्त र तनावपूर्ण हुने गर्दछ ।
यो तनावपूर्ण जीवनलाई व्यवस्थित गर्न क्रियाशील पत्रकारका लागि यो आधारभूत तहको (ह्याप्पीनेस)कोर्स आयोजना गरेको वैद्यले जानकारी दिनुभयो । प्रमुख प्रशिक्षक रितिका लोहियाले श्री रविशङ्करले प्रतिपादन गरेको यो कोर्सले जीवनलाई नयाँ दिशा देखाउने भन्दै जीवनलाई सही अर्थबाट कसरी अघि बढाउने भन्ने बारेमा सिकाउने बताउनुभयो ।
उहाँले यो कोर्सले सोच परिवर्तन गरिदिने, व्यवहार परिवर्तन गरिदिने, हेर्ने दृष्टिकोण र बुझाइ परिवर्तन गरिदिने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “वर्तमानलाई हेर्ने, जुनसुकै परिस्थिति स्वीकार गर्न सक्ने, सबैको कुरा सुन्ने र निर्णय आफूले लिने जस्तो व्यक्तित्व निर्माण गर्न मद्दत पुग्छ । यसमा रहेको सुदर्शन क्रिया गुरुद्वारा प्रतिपादित अझ विशिष्ट विधि हो । त्यसले शारीरिक र मानसिक रुपमा ऊर्जा प्रदान गर्छ । समग्रतामा भन्दा यो हरेक व्यक्तिको जीवनलाई रचनात्मक ढङ्गले अघि बढाउन मद्दत गर्छ ।”
के हो सुदर्शन क्रिया ?
अ त्मिक गुरु श्री रविशङ्करद्वारा प्रतिपादित सुदर्शन क्रिया श्वास लिने एक लयात्मक, शक्तिशाली र स्वास्थ्यवर्द्धक विधि हो । ‘सु’को अर्थ राम्रो वा सही हो । दर्शनको अर्थ साक्षात्कार वा झलक हो । क्रिया एक यस्तो अभ्यास हो जसले शुद्धि प्रदान गर्छ । सुदर्शन क्रिया शुद्धीकरणको एक यस्तो प्रक्रिया हो, जसको अभ्यासले हामी आफ्नो वास्तविक स्वरुपसँग साक्षात्कार गर्छौँ। सुदर्शन क्रिया श्वास लिने एक लयात्मक, शक्तिशाली र स्वास्थ्यवर्द्धक विधि हो ।
जीवनको ऊर्जा र प्राणको स्रोत हो, सास । प्राण शरीर वा मन दुवैको स्वास्थ्य र सुखको आधार पनि हो । जब प्राण उच्च हुन्छ, व्यक्तिले स्वस्थ र सजग अनुभव गर्छ । सुदर्शन क्रिया ९० प्रतिशत शरीरको विषाक्त पदार्थ र तनाव हटाउन उपयोगी हुन्छ ।
सुदर्शन क्रियाको अभ्यासले उच्च श्रेणीको प्रतिरोधक शक्ति, सहनशक्ति र निरन्तर ऊर्जाको अनुभव दिलाउँछ । यसको नियमित अभ्यासले हामीलाई निरोगी बनाउन मद्दत गर्छ। यो पद्धतिले तनाव, थकान, क्रोध, निराशा जस्ता विकारयुक्त भावबाट मुक्त गर्छ । यसले मनलाई शान्त र एकाग्र राख्नुका साथै ऊर्जावान शरीरलाई गहिरो विश्राम पनि प्रदान गर्छ ।
कसरी गर्ने ?
सुदर्शन क्रियामा चार चरण हुन्छ । उज्जयी प्राणायाम, भस्त्रिका प्राणायाम, ओमको जप र क्रिया योग । प्राणायाम सुरु गर्नुअघि वज्रासनको स्थितिमा बस्नुपर्छ । सुदर्शन क्रिया श्री रवि शङ्करले प्रतिपादन गरेको एक विशिष्ट विधि हो । सुदर्शन क्रियाका लागि श्री रविशङ्करको आवाजमा मात्रै गर्न मिल्छ ।