रामकृष्ण बोहरा
बागलुङ, भदौ १ गते । बागलुङ नगरपालिका ५ मालिकास्थित प्रसिद्ध धार्मिकस्थल मालिका भगवती मन्दिरमा धार्मिक महोत्सव तथा तीज मेला हुने भएको छ । आगामी भदौ ८ देखि १२ गतेसम्म धार्मिक महोत्सव तथा तीज मेलाको आयोजकले जनाएको छ ।
मालिका भगवती मन्दिर व्यवस्थापन समितिको संयोजनमा बागलुङ नगरपालिका वडा नं. ५, ६, र ७ को सङ्गमस्थल मालिका परिसरमा धार्मिक महोत्सव तथा तीज मेला आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका महासचिव खिमराज सापकोटाले जानकारी दिनुभयो । धार्मिक महोत्सवमा भदौ १ गतेदेखि ८ गतेसम्म कथावाचक शिव आचार्यबाट ऋषिपञ्चमी महिमा प्रवचन कार्यक्रम आयोजना गरिएको सापकोटाले बताउनुभयो ।
धार्मिक महोत्सवमा पाँच हजार र सोभन्दा बढी सहयोग प्रदान गर्नुहुने निर्माणकर्ताको सहभागितामा दिव्य मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा पञ्चदिवसीय विभिन्न धार्मिक अनुष्ठानहरु रहने महासचिव सापकोटाले बताउनुभयो ।
तीज मेलामा खुला भलिबल, पुरुष-महिला छेलो, एकल नृत्य प्रतियोगिता आयोजना गरिएको छ । भलिबलको विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपियाँ, उपविजेतालाई ५५ हजार ५ सय ५५ र तृतीयलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, पुरुष छेलोमा प्रथम हुनेलाई १५ हजार, महिलातर्फ ५ हजार ५ सय ५५ रुपियाँ, एकल नृत्यतर्फ प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार पुरस्कार प्रदान गरिनेछ ।
धार्मिक महोत्सव तथा तीज मेलालाई सम्पन्न गर्न ५ सय १ सदस्य समिति गठन गरिएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रूपले महत्वपूर्ण रहेको मालिका भगवती मन्दिरको पुनर्निर्माणपछि मालिका क्षेत्रमा धार्मिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।