चितवन समाचारदाता
चितवन, भदौ १ गते । किरा र रोगबाट बचाउन किसानले विषादीको प्रयोग गर्ने गरेको त छँदैछ तर केही वर्षयता खेतबारी, घरआँगन, बाटो, सडक किनार, चौरलगायतका स्थानमा झार मार्न पनि विषादीको प्रयोग बढ्दो छ । त्यसले बोटबिरुवालाई गर्ने हानि त छँदैछ मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न थालेको छ ।
वर्षामा घरआँगन वरपर उम्रने झार, दुवोलगायतको हरियो वनस्पतिलाई उखलेर फाल्नुभन्दा विषादी हालेर मार्ने क्रम बढेको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यसरी विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यलाई मात्र नभएर माटोको उर्वरा शक्तिसमेत नास भएको छ । धेरै विषादी प्रयोग गरेर पूर्वी चितवनको राप्ती नगरपालिकाका एक किसानको माटो बिग्रेर बाली नै हुन छाडेको छ । सकेसम्म जैविक विषादीको प्रयोग गर्न, रासायनिक विषादीको प्रयोग नगर्न अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय झार मार्ने भन्दै विषादीको प्रयोग वढेको पाएका छौँ,” उहाँले भन्नुभयो, “मेहनत कम गर्ने बानी भएकाले झार मार्न विष हालेका छन् । यस्तो कार्यले घरबारीमा मात्र होइन मानव समुदायमा नै असर परेको छ ।”
कार्यालयले सुरक्षित तरिकाले कम असर गर्ने खालका अनुमति पाएका विषादी मात्र प्रयोग गर्न किसानलाई अनुरोध गरेको जानकारी दिनुभयो । विद्यालयस्तरमा विद्यार्थी माझ विषादीको प्रयोगबाट हुने असरबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार अन्नबालीभन्दा तरकारी बालीमा विषादीको प्रयोग धेरै भएको पाइएको छ । विषादी प्रयोगको मात्राको विषयमा नारायणगढको सब्जीमन्डीमा परीक्षणसमेत गर्दै आएको जानकारी दिनुभयो । मकवानपुर र चितवन दुई जिल्ला हेर्दै आएको कार्यालयले दुवै जिल्लामा विषादीको प्रयोगको अवस्था उस्तै रहेको कार्यालय प्रमुख कँडेलले जानकारी दिनुभयो । मकवानपुरको उत्तर क्षेत्र, पालुङ, टिस्टुङ, दामनलगायतको क्षेत्रमा तरकारी तथा फलफूल खेती हुँदै आएको छ । त्यस क्षेत्र र हाँडीखोला लगायतको क्षेत्रमा विषादीको प्रयोग भएको जानकारी दिनुभयो । तीबाहेकका स्थानमा हुने अन्य बाली तथा तरकारी खेतीमा विषादीको प्रयोग बढेको बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा चितवनका कीटशास्त्रविज्ञ सुन्दर तिवारीले विषादीको प्रयोग संस्कृति नै बनेको बताउनुभयो । तरकारी तथा अन्य बालीमा विषादी प्रयोग नगर्नेलाई समेत विषादी नहाली फल्दैन भन्दै हाल्न प्रेरित हुने गरेको पाइएको जानकारी दिनुभयो ।
केही वर्षयता बाली नभएको स्थानमा समेत विषादी प्रयोग डरलाग्दो अवस्थामा हुने गरेको बताउनुभयो । घरअगाडिको हरियाली देख्न नसकेर विष हालेर मार्ने गर्दा त्यसको प्रभाव मानव स्वास्थ्यमा पर्ने गरेको छ । उहाँका अनुसार नेपालमा दुई वर्षअगाडि वार्षिक पाँच हजार टन विषादी नेपाल भित्रिएको तथ्याङ्क रहेकोमा गत वर्ष वृद्धि भएर एक वर्षमा छ हजार टन पुगेको छ । यो तथ्याङ्कले पनि नेपालमा बढ्दो मात्रामा विषादीको प्रयोग भइरहेको देखाउँछ उहाँले भन्नुभयो ।
जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक सङ्घ (आइपिएम) भरतपुरका अध्यक्ष धर्म कँडेल विषादी प्रयोग नगरेर पनि बालीबाट उत्पादन गर्न सकिने बताउनुहुन्छ ।