काठमाडौँ, भदौ १ गते । वैदेशिक रोजगारीमा कुवेतमा कार्यरत ११ जना नेपाली श्रमिकको विषाक्त मदिरा प्रयोगका कारण मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार विषाक्त मदिराको प्रयोग गरेर कुवेतका विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये ११ जनाको मृत्यु भइसकेको पुष्टि त्यहाँको अस्पतालले गरेको हो ।
दूतावासका अनुसार मृत्यु हुने श्रमिकमध्ये १० जनाको नाम र ठेगाना पुष्टि भइसकेको र एक जनाको पुष्टि हुन बाँकी रहेको छ । पुष्टि भएका मृतक श्रमिकका परिवारले नाम र ठेगाना सार्वजनिक नगर्न आग्रह गरेबमोजिम नै नाम र ठेगाना सार्वजनिक गरिएको छैन । विषाक्त मदिरा पिएर मृत्यु हुने श्रमिक पुरुष २२ वर्षदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरूमध्ये अधिकांशले कुवेतका उत्पादन तथा सेवाका कम्पनीमा एक वर्षदेखि पाँच/छ वर्षसम्म काम गरिरहेको दूतावासले जनाएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीमध्ये १५ जनाको अति विशेषकक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ भने बाँकी १३/१४ जनाको सामान्य अवस्था रहेको र केहीको अस्पतालबाट डिस्चार्जसमेत भएको दूतावासले जानकारी गराएको छ । अस्पतालको प्रारम्भिक रिपोर्टमा मदिराका प्रयोग गरेर मृत्यु हुनुको कारण मदिरमा मेथानोल नामको रसायन पाइएकाले त्यसको असरले हुन सक्ने उल्लेख छ ।
आइसियुमा उपचार भएकामध्ये अधिकांश खतरामुक्त भइसकेको र केहीको भने अझै खतरामुक्त भन्न सक्ने अवस्था नरहेको उपचाररत चिकित्सकको भनाइ उद्धृत गर्दै दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।
विगत चार दिनदेखि मदिरा पिएर बिरामी भएका नेपाली श्रमिकको उपचार गराउन लागिपर्नुभएका उहाँले भन्नुभयो, “कुवेतका आदान, फर्वनिया र मुबारक अलकबीलगायतका अस्पतालमा बिरामीको उपचार भइरहेको छ । उपचारमा कुनै कसर बाँकी रहेको छैन । सकेसम्म पूर्ण निको पारेर मात्रै पठाउनेमा अस्पताल छन् ।” मदिरा पिउन कुवेतमा पूर्ण रूपमा प्रतिबन्ध छ तर पनि मदिरा पिएर बिरामी भएका नेपालीसहित अन्य श्रमिकको उपचारमा यहाँको सरकार असाध्यै संवेदनशील देखिएको आचार्यले जानकारी दिनुभयो ।
घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
शव पठाउने तयारी
दूतावासले कुवेतमा मदिरा प्रयोग गरेर मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको समन्वयमा केही दिनमा नेपाल पठाउने तयारी गरेको जनाएको छ । श्रम सहचारी आचार्यले मृतक श्रमिकका परिवारसँग नियमित सम्पर्क भइरहेको र शव सकेसम्म छिटो पठाउने विषयमा सहजीकरण भइरहेको जानकारी दिनुभयो ।
मदिरा प्रयोगपछि बिरामी भएर उपचारपछि डिस्चार्ज भएका नेपाली श्रमिकले दिएको जानकारी अनुसार मदिरा साथीबाट लिएर कहिलेकाहीँ पिउने गरेको र अहिले पनि त्यही क्रममा यस प्रकारको घटना भएको बताइएको छ । श्रम सहचारी आचार्यले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, “यस घटनामा एकै पटक र नेपालीको जमघटमा भएको होइन । उनीहरू फरक फरक ठाउँमा फरक फरक समयमा पिएको देखिएको छ । मदिरा भने एकै ठाउँमा उत्पादन भएको हुन सक्छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।”