• १३ वैशाख २०८१, बिहिबार

नेपाल रग्बी १५ मा प्रवेश

blog

बंगलादेश र नेपालबीचको रग्बी भिडन्त । तस्बिर सौजन्य : एनएसजेएफ

काठमाडौं, असार ९ गते । कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रङ्गशालामा पहिलो पटक रग्बी १५ को आधिकारिक खेल खेलेको छ । प्रतिद्वन्द्वी बङ्गलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो । 

बङ्गबन्धु बङ्गलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज–२०२२ को रग्बी १५ प्रतिस्पर्धामा बङ्गलादेशले पाहुना टोली नेपाललाई ३१–७ स्कोरले पराजित गरेको छ । नेपाल पराजित भएपछि रग्बी १५ मा आधिकारिक प्रवेशले खुशी लागेको नेपाली टोलीका प्रशिक्षक टङ्कराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो–‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बी अगाडि बढ्ने ढोका खुल्यो ।’

नेपालले यसअघि ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको थियो । विश्व रग्वी महासङ्घको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासङ्घको पूर्ण सदस्य बन्न पाउनेछ । 

कप्तान क्षेत्रीले पनि पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो–‘रग्बी सेभन खेलेको दशक भयो । तर आज आएर बल्ल रग्बी १५ आफ्नै कप्तानीमा खेल्न पाइयो । यसले म ज्यादै खुशी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हो ।’ नेपाल अहिलेसम्म डिभिजनविहीन छ । रग्बी १५ खेलेपछि अब त्यो बाटो खुल्नेछ । खेलपछि नेपाली  र बङ्गलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशियाली मनाएका थिए ।