• १९ असार २०८१, बुधबार

प्रविधिको विकास नै समृद्धिको आधार हो : मुख्यमन्त्री राउत

blog

जनकपुरधाममा बिहीबारबाट शुरु भएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री राउत । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असार ९ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै विकासको मुल आधार रहेको बताउनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय युवा परिषद् नेपालको आयोजनामा बिहीबारदेखि शुरु भएको दुई दिवसीय राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले  सो कुरा बताउनुभयो ।

विज्ञानको अध्ययनले कुनै पनि समाजको गरिबी दूर गर्न सकिने उहाँको भनाइ छ । नेपालजस्तो आर्थिक रुपले पछाडि परेका देशको विकासको मुहान नै विज्ञानको विकास बन्नेमा आफू विश्वस्त रहेको बताउँदै मुख्यमन्त्री राउतले विज्ञान प्रविधिको विकासका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसार कामकाजलाई अगाडि बढाएको बताउनुभयो । 

विज्ञान प्रविधिमा हामी पछाडि रहेको मूल कारण केन्द्रीकृत मानसिकता रहेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशको लक्ष्य नै विज्ञान प्रविधिको विकास र स्थानीयस्तरको प्रविधिको अनुसन्धान रहेको बताउनुभयो । प्रदेश निर्माण भैसक्दा समेत सङ्घ अझै अधिकार दिनमा कन्जुस्याइँ गरिरहेकाले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्ति गर्न केही समय अझै लाग्ने उहाँको कथन छ ।

विज्ञान प्रविधिको विकासलाई मूलधारमा ल्याउन प्रदेश सरकारले १२ कक्षामा अध्ययन गर्ने चेलिबेटीलाई ल्यापटप वितरण गर्ने योजनाले प्रभावकारी भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उहाँले दावी गर्नुभयो । यसका लागि प्रदेश सरकारकारले अगामी आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको जानकारी गराउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले विज्ञान प्रविधिको विकासका लागि तीनै तहका सरकारले एकापसमा समन्वय गरी कामकाज गर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका सदस्य दामोदर रेग्मी, पूर्व विज्ञान प्रविधिमन्त्री गणेश साह सहितले आफ्नो धारणा राख्नुभएको थियो । 

देशको विभिन्न ठाउँका युवा वैज्ञानिक एवम अनुसन्धाताको सहभागिता रहेको उक्त सम्मेलनमा विज्ञान र अनुसन्धानको विषयमा छलफल र प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।