गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ३० गते । रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर अनलाइन ठगीको धन्दामा लगाइएका २१ जना नेपाली नागरिकलाई उद्धारपछि शुक्रबार स्वदेश फर्काइएको छ । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पु¥याएर त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाइएका २१ जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको हो ।
कम्बोडियामा भिसाबिना अलपत्र रहेका नेपाली नागरिकलाई दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली सङ्घ, कम्बोडियाको सहजीकरणमा स्वदेश फर्काइएको दूतावासले जनाएको छ । यसै गरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको पनि दूतावासले जनाएको छ ।
अझै पनि कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको, बिनाभिसा तथा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी आएकाले थप उद्धारको पहल जारी रहेको जनाइएको छ । अप्ठेरोमा परेका खण्डमा बैङ्ककस्थित दूतावास तथा कम्बोडियाका गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । उद्धार गरिएकाको हकमा राहदानी नभएकालाई एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेर सहजीकरण गरिएको पनि दूतावासले जनाएको छ । दुई दिनअघि मात्र दूतावासको पहलमा म्यान्मारबाट उद्धार गरिएका दुई जना नेपालीलाई स्वदेश फर्काइएको थियो ।