• ३० फागुन २०८२, शनिबार

इरानी नागरिकलाई आगमन प्रवेशाज्ञा बन्द

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३० गते । सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) बन्द गरेको छ । पश्चिम एसियाका देशमा जारी तनावका कारण राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भन्नुभयो, “यसअघि इरानी नागरिकलाई नेपाल भ्रमणमा आउँदा अनअराइभल भिसा दिने गरिएकोमा पछिल्लो परिस्थितिलाई हेर्दै विशेष राहदानीवाहकबाहेकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न मिल्ने छ ।” पछिल्लो समय इरानमा बढेको द्वन्द्वपछि त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने भएकाले सरकारले अनअराइभल भिसा बन्द गरेको उहाँले जानकारी दिनुभयो । 

नेपालले यसअघि १२ देशका नागरिकलाई अनअराइभल भिसा बन्द गर्दै आएको थियो । अब त्यो सङ्ख्या १३ पुगेको छ । यसअघि अन्य मुलुकका नागरिकलाई नेपालको सीमा प्रवेश गर्दा ९० दिनको अनअराइभल भिसा दिने गरेकोमा इरानलाई भने ९० दिनको मागे पनि १५ दिनको मात्रै उक्त सुविधान दिने गरिएको थियो । सरकारले नाइजेरिया, घाना, जिम्बाब्वे, स्विट्जरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाट नेपाल आउने नागरिकलाई यसअघि नै अनअराइभल भिसा बन्द गरेको छ ।